‘चितवन पर्यटन तथा हात्ती महोत्सव’ सुरु, हात्तीलाई दुःख नहुने गतिविधिलाई प्राथमिकता

चितवन - चितवनको पर्यटकीय नगरी सौरहामा मंगलबारबाट ‘१७औं चितवन हात्ती तथा पर्यटन महोत्सव-२०८०’ शुरू भएको छ।

यूनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेस्टुराँ एन्ड बार एशोसिएशन नेपालको सहकार्यमा क्षेत्रीय होटल संघ नेपाल चितवनले महोत्सव आयोजना गरेको हो। महोत्सवको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका छन्।

कोरोना महामारीका कारण पछिल्लो चार वर्षदेखि हात्ती महोत्सव आयोजना भएको थिएन। यसअघि बाघमारा मध्यवर्ती सामुदायिक वनमा गरिंदै आएको महोत्सव यस पटक रत्ननगर नगरपालिका-७, मैनाहाचौरमा आयोजना गरिएको छ। यसपालिको महोत्सवमा यसअघि हुँदै आएको छावाहरूको फूटबल, हात्ती पोलो र हात्ती दौड प्रतियोगिता हटाइएको छ।



हात्तीलाई दुःख नहुने गतिविधिलाई प्राथमिकता दिने भन्दै यस पटक हात्तीको शृंगार प्रतियोगिता, वनभोज आयोजना गरिएको छ। उद्घाटनको दिनको वनभोजमा ४० हात्ती सहभागी हुने आयोजकले जनाएका छन्।

पुस १४ गतेसम्म चल्ने महोत्सवमा पर्यटकीय गोष्ठी पनि आयोजना गरिएको छ। यस्तै, स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, राष्ट्रिय एवं स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति सहित उत्कृष्ट पथप्रदर्शक, माउते, डुंगा चालक, जीप चालक, संरक्षणकर्मीलाई सम्मान गर्ने कार्यक्रम समेत समेटिएको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics