बहुगुणी गाँजा, तर किन प्रतिबन्ध ?

काठमाडौं - अनुसन्धानहरूले रक्सी र सूर्ती भन्दा गाँजा कम हानिकारक र कम अम्मलकारी रहेको प्रमाणित गरेको छ। हामीकहाँ रक्सी र सूर्ती खुला छ तर गाँजा भने प्रतिबन्धित।

नेपाली समाजमा गाँजाको सकारात्मक पक्ष बारेको सचेतना अत्यन्त न्यून छ । गाँजा हतियार जस्तै हो, यसको सदुपयोगले रक्षा गर्दछ भने दुरुपयोगले घाइते बनाउँछ ।

नेपालमा कुनै वेला परम्परागत रूपमै गाँजाबाट बनाइएको आयुर्वेदिक औषधि प्रयोग हुन्थ्यो । ‘विजया’ भनिने गाँजाबाट निर्मित औषधि शीघ्र स्खलन, नवप्रसूतालाई पुनर्स्थापना, अनिद्रा, नाकबाट पानी बग्ने, झाडापखाला, अत्यधिक पीडा, मानसिक रोग जस्ता समस्यामा प्रयोग हुने गरेको सिंहदरबार वैद्यखानाको अभिलेखमा पाइन्छ ।

बिरामी लठ्याउन वा पीडा कम गर्न ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नभएको त्यो वेला गाँजाकै प्रयोग गरिन्थ्यो तर पछि गाँजा प्रतिबन्धित भएसँगै वैद्यखानाले पनि यस्ता औषधि उत्पादन गर्न छाड्यो।

नेपालमा उत्पादित गाँजा विश्वमै उत्कृष्ट मानिन्छ । नेपाली समाजमा बहुगुणी गाँजा विभिन्न स्वरुपमा प्रयोग हुँदै आएको पाइन्छ । यौन जीवनको सुधारका लागि अब बिस्कुट, कुकिज, क्यान्डी, अचार, चिया, जुस आदिमा पनि गाँजा मिसाएर प्रयोगमा ल्याउन सकिन्छ।

गाँजाको तेल बनाएर अन्य तेल, क्रिमसँग मिसाई शरीर मसाज गर्न पनि सकिन्छ । युवा पुस्ताले अधिक मात्रामा सेवन गर्ने बियर एवं रक्सीमा समेत गाँजाको प्रयोग गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ।



के गाँजाबाट लाभ होला ?
नेपालले समेत विश्वयुद्धका बेला गाँजाबाटै बनाइएका झाडापखलाको औषधि निर्यात गरेको र अहिले पनि सिंहदरबार वैद्यखानाले त्यस्ता औषधीहरू बनाउने गरेको वैद्यखानाका पूर्वनिर्देशक प्राध्यापक डा. चन्द्रराज सापकोटा बताउँछन्।

अहिले विश्वमा धेरै खोजिनेमध्येको एक निद्रासम्बन्धी रोगको उपचारमा पनि गाँजा प्रयोग हुने उनी बताउँछन्।

समृद्धिको लक्ष्य बोकेर हिँडिरहेको सरकारलाई गाँजाको व्यावसायिक खेतीले ठूलो सघाउ पुग्ने धारणा सांसद खतिवडाको छ।

उनले भने, "अर्थोपार्जनको लागि सहयोगी हुने नगदेबालीको रूपमा विकास हुन सक्दा उब्जाउ हुने विकट भेगमा चरम गरिबीमा रहेका तामाङ, चेपाङजस्ता समुदायलाई उकास्न सघाउनेछ।"

सन् १९७० को पूर्वार्धसम्म नेपालमा गाँजा खेती र व्यापार वैधानिक थियो। नेपालबाट ठूलो परिमाणमा गाँजा र चरेस निर्यात हुन्थ्यो।

त्यसमा साना व्यापारी मात्र हैन समाजका गन्यमान्य व्यक्ति र ठूला व्यापारी पनि संलग्न हुन्थे। नेपालले प्रत्यक्ष र परोक्ष दुवै रूपमा केही न केही फाइदा पाएकै थियो।

सन् १९६० र सन् १९७० को दशकमा नेपालमा फैलिएको हिप्पी संस्कृतिलाई धेरैले नेपालको सौन्दर्यबाहेक गाँजाको सहज उपलब्धतासँग जोडेर हेर्ने गरेका छन्। हिन्दी चलचित्र 'हरे राम हरे कृष्ण'मा पनि त्यस्तै देखाइएको छ।

सामाजिक सञ्जालमा पनि गाँजाबारे बहस हुने गरेको छ। धेरैले यसलाई सकारात्मक मानेका छन्। तर कतै गाँजा खेतीलाई वैधानिकता दिने कुरा उठाएर भोटको राजनीति हुन खोजेको हो कि भन्ने शङ्का पनि व्यक्त गरिएको छ।



के भन्छ नेपालको कानुन ?
संयुक्त राष्ट्रसङ्घले सन् १९६१ मा 'द सिङ्गल कन्भेन्शन अन नार्कोटिक ड्रग्स १९६१' पारित गर्‍यो। त्यसमा गाँजालाई पनि अफिमजस्तै कडा खालको लागुऔषध मान्दै प्रतिबन्ध लगाउनुपर्ने प्रावधान छ।

नेपालले सो अभिसन्धिमा हस्ताक्षर गरेपछि सन् १९७६ मा लागुऔषध नियन्त्रणसम्बन्धी कानुन बनायो ।

त्यसमा गाँजाको खेती, भण्डारण, सेवन र बिक्रीवितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो। पाँचचोटि संशोधन भइसकेको सो ऐनले २५ बोट गाँजा खेती गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना तोकेको छ। सोभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना हुन सक्छ।

उक्त ऐनअनुसार ५० ग्रामसम्म गाँजा राखे तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। तर त्यसले नेपालमा गाँजा खेती र तस्करी रोक्न सकेको छैन। बेलाबेलामा प्रहरीले गाँजा र चरेस बरामद गरिराख्छ।

यद्यपि गाँजा बरामद हुने क्रम भने घटेको छ। सन् २०१३ मा २३ हजार किलो गाँजा समातिएको थियो भने सन् २०१८ मा ३५ सय किलोसम्म समातिएको छ। रोचक के छ भने नेपालमा गाँजा भित्रिएको उल्लेख्य घटना भेटिएको छैन, तर नेपालबाट बाहिर तस्करी भएका घटना भने धेरै छन्।

गाँजाबाट औषधि
नेपालले विश्वयुद्धका बेला गाँजाबाटै बनाइएका झाडापखालाको औषधि निर्यात गरेको सिंहदरबार वैद्यखानाका पूर्वनिर्देशक प्राध्यापक डा. चन्द्रराज सापकोटाले बताएका छन्।

सापकोटाले अहिले पनि सिंहदरबार वैद्यखानाले त्यस्ता औषधीहरू बनाउने गरेको बताएका थिए। निद्रासम्बन्धी रोगको उपचारमा पनि गाँजा प्रयोग हुने उनी बताउँछन्।



नेपालमा कतिले सेवन गर्छन् गाँजा ?
नेपाल सरकारले छ वर्षअघि गरेको लागुऔषध प्रयोगकर्तासम्बन्धी सर्वेक्षणमा झन्डै ९१ हजारले विभिन्न किसिमका लागुपदार्थ सेवन गर्ने गरेको देखिएको थियो। तर सो सर्वेक्षणमा गाँजालाई समावेश गरिएको थिएन।

यसै वर्ष सुरु हुन लागेको सर्वेक्षणमा त्यसलाई गाँजालाई समावेश गर्न लागिएको नेपाली प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले बताएको छ।

अन्य लागुऔषध प्रयोगकर्ताले गाँजा पनि प्रयोग गर्ने पाइएको बनाइन्छ। प्रहरीका अनुसार सुधार केन्द्र जाने दुर्व्यसनीहरूमा १० प्रतिशतजतिले गाँजा मात्र सेवन गर्ने गरेको प्रहरीको भनाइ छ।

विसं २०६९ मा भएको सो सर्वेक्षणमा तीनको वार्षिक वृद्धिदर ११.३६ प्रतिशत भएकाले अहिलेकै अवस्थामा गाँजा खेतीलाई वैधानिक मान्यता दिन त्यति सजिलो देखिँदैन।

नेपालको धेरै क्षेत्रमा गाँजा प्राकृतिक रूपमा नै उम्रिन्छ। औषधीय गुण भएको प्रमाणित भइसकेको यो वनस्पतिलाई परम्परागत रूपमा औषधिमा पनि प्रयोग गरिन्छ।

कतैकतै यसको दाना भुटेर त्यसको छोप वा अचार बनाएर खाने चलन पनि छ।

वैज्ञानिकहरूले गाँजामा हुने विभिन्न यौगिकबारे अनुसन्धान गरेर क्यान्सर एवम् अरू रोगमा उपचार गर्ने औषधि बनाएका छन्। त्यसका लागि केही देशमा गाँजा खेतीलाई कानुनी मान्यता पनि दिइएको छ।

धेरै रोगको उपचारमा ‘उपयोगी’
आयुर्वेदमा आजभन्दा झन्डै २,००० वर्षअघिदेखि प्रचलनमा रहेका 'चरक संहिता' नामक ग्रन्थमा पनि गाँजा र यसबाट बन्ने भाङको प्रयोग औषधिका लागि उपयोगी हुने उल्लेख छ।

गाँजाबाट उत्पादन गर्न सकिने औषधि प्रभावकारी हुनसक्ने रोगहरू:


  • पाचन तथा पेटसम्बन्धी रोग

  • स्नायुरोग तथा टाउको दुख्ने

  • मानसिक रोग तथा डिप्रेशन

  • दुखाइ कम गर्ने र क्यान्सर


(यो सामग्री विभिन्न अध्ययन प्रतिवेदन, समाचार, विचार र कानुनलाई आधार मानि तयार पारिएको हो)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics