जब ब्रिटिस काउन्सिल नेपालले लन्डनमा नेपाली संस्कृति संझियो…

लन्डन — ब्रिटिस काउन्सिल नेपालले लन्डनमा प्रदर्शनीसहित सांस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढीकरणको ६५ औं वार्षिकोत्सव मनाएको छ । ब्रिटिस काउन्सिल नेपालले आफ्नो मुख्य कार्यालय लन्डनमा एक प्रदर्शनी आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावका ६५औं वर्ष स्मरण गरेको हो ।

प्रदर्शनी लन्डनको रेडम्यान पी एल, इ२० १जेक्यू, मा सर्वसाधारणका लागि १ अप्रिल, २०२४ सम्म खुला रहनेछ । बेलायत–नेपाल मैत्री सन्धिको शतवार्षिकी उत्सवकै रुपमा आएको यो विशिष्ट अवसरले दुई मुलुकबीच सदियौंदेखि चलिआएको कूटनैतिक सम्वन्धलाई प्रष्ट पारेको काउन्सिलले जनाएको छ ।

नेपालका लागि बेलायती राजदूत रव फेनले यस अवसरलाई कोशेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरे । राजदूत रब फेनले भने, ‘बेलायत र नेपालबीचको सम्बन्ध चीर स्थायी छ र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकबीचको सांस्कृतिक तथा शैक्षिक सम्बन्धहरुलाई सुदृढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।’

त्यसैगरी, बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भनेका छन्, ‘ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको सांस्कृतिक तथा शैक्षिक आदानप्रदानलाई उजागर गर्दछ, विगत झल्काउँछ र भविष्यमा हुन सक्ने सहकार्यहरुलाई संकेत गर्छ ।’

राजदूत आचार्यले दुई शताब्दीभन्दा लामो द्विपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकबीच रही आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुदृढ बनाउन सघाउने विश्वास पनि व्यक्त गरे ।

बेलायत र नेपालबीच कूटनैतिक सम्वन्धको एक अशंका रुपमा ६५ वर्ष अघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो । त्यसउपरान्त, नेपाल सरकारको शैक्षिक तथा साँस्कृतिक सुधारका पहलहरुमा यो भरपर्दा साझेदारका रुपमा विकास भएको छ, जसका प्रभावहरु लाखौं जनताबीच पुगेका छन् ।

ब्रिटिस काउन्सिल नेपालकी देशीय निर्देशक शाहिदा म्याकडुग पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्रा चर्चा गर्दै भन्छिन्, ‘विगतका ६ दशकमा हामी थुप्रै व्यक्तित्व र संघसंस्थासँग मिलेर लाखौंबीच पुग्न सकेका छौं । साथै ब्रिटिस काउन्सिल नेपालले नेपालको शैक्षिक तथा साँस्कृतिक फाँटमा रुपान्तरणकारी प्रभाव छोड्न सफल भएको छ ।’

लन्डन मुख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा साँस्कृतिक क्षेत्रहरुमा गरेका प्रयासहरु र उल्लेख्य योगदानहरुलाई प्रष्टयाएको उनको भनाइ छ । विगतका ६५ वर्षमा ब्रिटिस काउन्सिल नेपालले साझेदारीहरुलाई अभिवृद्धि गर्दै, सहकार्यलाई सहजीकरण गर्दै विभिन्न कार्यक्रममार्फत समुदायमा गतिलो छाप छोड्न सम्भव तुल्याएको छ ।

ब्रिटिस काउन्सिल संयुक्त अधिराज्य बेलायतको सांस्कृतिक सम्बन्ध र शैक्षिक अवसरहरुका लागि अन्तर्राष्ट्रिय संस्था हो । उसले संयुक्त अधिराज्य र विश्वभरका देशमा रहेका मानिसबीच सम्पर्क, समझदारी र विश्वास निर्माण गरी शान्ति र समृद्धिलाई सहयोग गर्दै आएको छ ।

‘हामी यो कला र संस्कृति, शिक्षा र अंग्रेजी भाषामा हाम्रा कार्यहरूका माध्यमबाट गर्छौं । हामी दुई सयभन्दा बढी देश तथा क्षेत्रहरुमा रहेका मानिससँग काम गर्छौं र सयभन्दा बढी देशमा छौं । सन् २०२२÷२३ मा हामी ६० करोड मानिससम्म पुग्न सफल भयौं’, काउन्सिलले एक विज्ञप्तिमार्फत भनेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics