चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा १ लाख पर्यटक

चितवन — चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जमा जंगल सफारीमार्फत १ लाख बढी आन्तरिक तथा बाह्य पर्यटकले निकुञ्जको अवलोकन गरेका हुन् ।

विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरूका लागि बढी रुचाइने क्षेत्र पनि हो । यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् ।

यसैगरी घडियाल गोही, मगर गोही, अजिंगर लगायत सरिसृप तथा उभयचर, बसाइसराई आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुंगी र विभिन्न किसिमका कीरा फट्यांग्राहरू रहने गर्दछन् ।

निकुञ्जका वरिष्‍ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा १ लाख बढी पर्यटक निकुञ्ज अवलोकन भ्रमण गरेको जानकारी दिए ।

वरिष्‍ठ संरक्षण अधिकृत पुनले पछिल्लो पाँच महिनामा निकुञ्ज भित्रिएका १ लाख बढी पर्यटकबाट निकुञ्जले १० करोड भन्दा बढी राजश्व संकलन गरेको जानकारी दिए ।

उनले चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष ३ लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएको तथ्यांक रहेको बताए ।

वरिष्‍ठ संरक्षण अधिकृत पुनले गत वर्ष ३ लाख पर्यटकबाट ३० करोड रुपैयाँ राजश्व संकलन गरेको उल्लेख गरे । गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन वृद्धि हुने निकुञ्जको अपेक्षा छ ।

‘चितवन राष्ट्रिय निकुञ्जको मंसिरसम्मको पर्यटन आगमनको तथ्यांक हेर्दा १ लाख बढी पर्यटक प्रवेश गर्नुभएको छ । त्यसमा स्वदेशी तथा विदेशी पर्यटक हुनुहुन्छ । राजश्व आम्दानीको हिसावले चितवन राष्ट्रिय निकुञ्जले १० करोड भन्दा बढी राजश्व संकलन भएको छ,' पनुले भने, 'गत वर्ष ३ लाख बढी पर्यटक चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका थिए । जसबाट ३० करोड रुपैयाँ राज्यलाई राजश्वको रुपमा आम्दानी भएको थियो ।'

निकुञ्जमा प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तु अवलोकन गर्नसक्ने अवस्था रहेको पुनले बताए । उनले चितवन राष्ट्रिय निकुञ्ज गैँडा,बाघ, अन्य वन्यजन्तु र जङ्गल सफारीमार्फत अवलोकनको लागि आउने हात्ती कुन क्षेत्रमा छ भन्ने जानकारी लिने यन्त्र नै जडान गरेर निकुञ्जले काम गरिरहेको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics