तपाईँले आफ्नु कुकुर कति वर्ष बाँच्छ, सोच्नुभएको छ ?

काठमाडौं - के तपाईँले कहिल्यै आफ्नो कुकुरलाई हेरेर, यो कति आयुसम्म बाँच्छ होला भन्ने सोच्नु भएको छ ? वा आफ्नो कुकुरसँग अझै कति वर्ष टहल्न निस्कन वा त्यसलाई अङ्गालेर सोफामा बस्न पाउँछु होला भन्नेबारे कल्पना गर्नु भएको छ ?

एउटा गहन अध्ययनले बेलायती पाल्तु कुकुरहरूको औसत आयु अनुमान गर्ने प्रयास गरेको छ। अध्ययन अनुसार 'ज्याक रसल टेरियर' नामक प्रजाति औसतमा सबैभन्दा धेरै १२.७ वर्ष बाँच्छ। त्यस्तै 'बोर्डर कोली' र 'स्प्रिङ्गर स्पानिअल्' क्रमशः १२.१ र ११.९ वर्ष बाँच्ने देखिएको छ।

ठीक विपरीत, सामाजिक सञ्जालमा चर्चित र प्रभावशाली ठानिएका व्यक्तिहरूले पाल्न रूचाउने कुकुरहरूको औसत आयुले भने तपाईँको चित्त दुखाउन सक्छ।

चेप्टो अनुहार भएका चार किसिमका कुकुरहरूको जन्मजात औसत आयु कम भएको पाइएको छ। तीमध्ये फ्रेन्च बुलडगहरू जम्मा ४.५ वर्ष बाँच्ने आकलन गरिएको छ। त्यस्तै इङ्गलिश बुलडगहरू ७.४ वर्ष, पग प्रजातिका कुकुर ७.७ वर्ष र अमेरिकन बुलडगहरू ७.८ वर्षसम्म बाँच्ने अनुमान गरिएको छ।

यी घरपालुवा जनावरहरूमा तिनको आयु छोट्याइदिने विभिन्न किसिमका समस्याहरू देखिएका छन्। तिनमा श्वास प्रश्वास, मेरुदण्डका रोगहरू र बच्चा जन्माउँदा जटिलता देखिने समस्याहरू पाइन्छन्। यी समस्याहरूले सम्बन्धित प्रजातिका कुकुरहरूको समग्र आयु घटाउने गरेको देखिएको छ।



जन्मँदै कुकुरहरूको औसत आयु
ज्याक रसल टेरियर १२.७२ वर्ष

योर्कशाएर टेरियर १२.५४ वर्ष

बोर्डर कोली १२.१०

स्प्रिङ्गर स्पानिअल ११.९२ वर्ष

क्रसब्रेड ११.८२ वर्ष

लाब्राडोर रिट्रिभर ११.७७ वर्ष

स्टाफर्डशाएर बुल टेरियर ११.३३ वर्ष

ककर स्पानिअल ११.३१ वर्ष

शिह-त्जु ११.०५ वर्ष

काभालिअर किङ् चार्ल्स स्पानिअल १०.४५ वर्ष

जर्मन शेपर्ड १०.१६ वर्ष

बक्सर १०.०४ वर्ष

बिगल ९.८५ वर्ष

हस्की ९.५३ वर्ष

चिहुआहुआ ७.९१ वर्ष

अमेरिकन बुलडग ७.७९ वर्ष

पग ७.६५ वर्ष

इङ्गलिश बुलडग ७.३९ वर्ष

फ्रेन्च बुलडग ४.५३ वर्ष

माथि उल्लेखित १८ चुनिएका प्रजाति र वर्णशङ्कर कुकुरहरूको औसत आयु यसअघि पनि आकलन गरिएको थियो। तर, यहाँ जनाइएको आयु सम्बन्धी आकलन थप परिष्कृत छ किनकि यो 'भेट कम्पास" भनिने विस्तृत भेटेरिनरी तथ्याङ्कमा आधारित छ।

रोयल भेटेरिनरी कलेज, आरभीसीले सञ्चालन गर्ने यो निगरानी प्रणालीमा दुई करोड जनावरहरूबारे जानकारी समावेश गरिएको छ।

कलेजले डा. केन्डी त्सु-युन टेङ र उनका सहकर्मीहरूलाई आयु सम्बन्धी जानकारी दिने "लाइफ टेबल" भनिने एकप्रकारको आयु तालिका तयार गर्न अनुमति दिएको थियो।

सामान्य भाषा भन्नुपर्दा ति यस्ता तथ्याङ्कका चित्र हुन् जसमा कुकुरको प्रजातिको समग्र सङ्ख्यालाई उमेर समूहको आधारमा वर्गीकरण गरिएको हुन्छ। प्रत्येक वर्गले अर्को उमेर समूह अघि कुकुरको सम्भावित आयुको अनुमान प्रस्तुत गर्छ।

घरपालुवा कुकुर कति लामो आयु बाँच्छ भन्ने विषयलाई धेरै कारकहरूले निर्धारण गर्छन् जसका कारण औसत आयु मात्रैको यो हिसाब आंशिक रूपमा मात्र उपयोगी हुन्छ।

उदाहरणका लागि चिहुआहुआलाई हेरौँ जसको औसत आयु ७.९ वर्ष छ। त्यसैले तपाईँलाई उक्त प्रजातिको ६ वर्षे कुकुरलाई उद्धार गरेर आफ्नो घरमा लैजानु व्यर्थ हुन्छ की भन्ने लाग्न सक्छ। किनकि त्यसको औसत आयुको कारण जम्मा २ वर्ष मात्रै त्यसलाई आफूसँग राख्न पाइने हो भन्ने लाग्न सक्छ।

तर भेटेरिनरी विवरणहरूले धेरै चिहुआहुआहरू तिनको अनुमानित औसत आयुभन्दा कम उमेरमा मर्ने देखाउँछन्। यसर्थ ६ वर्षसम्म बाँच्न सकेको यस प्रजातिको कुकुर ८ वर्षभन्दा पनि धेरै बाँच्न सक्ने सम्भावना रहन्छ। केही चिहुआहुआ १५ देखि १६ वर्षसम्म जीवित रहेको उदाहरण छन्।

"कहिले काहीँ तथ्याङ्कहरू प्राविधिक रूपमा सही देखिन्छन्। तर त्यसभित्र पनि अझै धेरै थरि विविधता हुन्छन् जुन समेटिएको हुँदैन। चिहुआहुआको हकमा पनि त्यस्ता विविधता नसमेटिएको खण्डमा यकिन उमेरको अनुमान नहुन सक्छ," आरभीसीकी भेटेरिनरी एपिडेमियोलजिस्ट डा. ड्यान ओ'निलले भने।



यो उपाय हुर्किसकेको कुकुर पाल्ने योजना बनाइरहेका वा आफ्नो बुढो हुँदै गएको कुकुरको महँगो उपचारका बारेमा निर्णय गर्न मानिसहरूका निम्ति उपयोगी हुन सक्छ।

"कुकुरहरूको आयु तालिकाहरूले बेलायतमा लोकप्रिय कुकुरहरूको औसत आयुबारे महत्त्वपूर्ण दृष्टान्त प्रदान गर्छ र कुकुरको लागि गरिने कल्याणकारी कार्यहरूको मूल्याङ्कन गर्न पशु चिकित्सक र कुकुर मालिकहरूका लागि उपयोगी हुन्छ," बेलायती भेटेरिनरी सङ्घका अध्यक्ष डा. जस्टिन शटनले टिप्पणी गरे।

"निष्कर्ष चेप्टो अनुहार भएको प्रजातिका कुकुरको कम औसत आयुसँग सम्बन्धित छ। निष्कर्षहरूले सम्भावित कुकुर मालिकहरूलाई अनुहार नभई स्वास्थ्यका आधारमा कुकुर छनोट गर्न मद्दत पुर्‍याउँछ।"

चेप्टो अनुहार भएका कुकुरका प्रजातिहरूबारे डा. ओ'निल र डाक्टर शटनको दृष्टिकोण मिल्दो छ।

तर फ्रेन्च बुलडगका हकमा देखाइएको कम औसत आयु यसको बढ्दो लोकप्रियताका कारण केही हदसम्म पूर्वाग्रही भएको हुनसक्ने ओ'निलले बताए।

फ्रेन्च बुलडगको सङ्ख्या वृद्धि भएको र तत्काल यस प्रजातिको वास्तविक औसत आयु मापन गर्न गाह्रो हुने उनी बताउँछन्।

सन् २०११ मा यूकेका केनल क्लबमा दर्ता भएका फ्रेन्च बुलडगहरूको सङ्ख्या २,७७१ थियो। उक्त सङ्ख्या २०२० मा ३९,२६६ पुगेको थियो।

"यसको मतलब अन्य प्रजातिहरूको तुलनामा यस प्रजातिका कुकुरहरूमध्ये धेरै जवान छन्। उनीहरू मर्ने उमेरमा पुग्न बाँकी छ। यसै कारण फ्रेन्च बुलडगको मध्यम वा औसत आयुबारेको अनुमान प्रभावित भएको हुनसक्छ," डा. ओ'निलले व्याख्या गरे।

"समयसँगै हामीले थप तथ्याङ्क सङ्कलन गर्दै जाँदा सायद तिनीहरूको आयु साढे चार वर्ष मात्र हुने छैन। तर मलाई लाग्दैन यसको उमेर पग र इङ्गलिश बुलडगको भन्दा धेरै हुन्छ।"

डा त्सु-युन टेङ राष्ट्रिय ताइवान विश्वविद्यालयसँग आबद्ध छिन्। उनी र डा. ओ'निलको अध्ययन साइन्टिफिक रिपोर्ट्स जर्नलमा प्रकाशित छ।

(यो सामग्री विभिन्न अनुसन्धान प्रतिवेदन र ऐजेन्सीको सहयोगमा तयार पारिएको हो)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics