खोई भक्तपुरको राष्ट्रिय प्राणी उद्यान ? अतिक्रमणले खाँदैछ
सरकारलाई गिज्याएको आफ्नै योजना
- नेचर खबर

काठमाडौं – सरकारले भक्तपुरको सूर्यविनायकस्थित जंगल क्षेत्रलाई राष्ट्रिय प्राणी उद्यानका रूपमा विकास गर्ने लक्ष राखेको ९ वर्ष भयो । तर, यस क्षेत्रमा कुनै काम नहुँदा जंगल क्षेत्र सरकारी रकम नै प्रयोग गरेर अतिक्रमण हुन थालेको छ भने चोरी निकासी/सिकारी पनि बढेको सरकारी पक्ष नै स्विकार गर्छन् । यसको पछिल्लो उदाहरण हो – राष्ट्रिय प्राणी उद्यानले सुरक्षाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग गुहार्नु र विभागले मन्त्रालयहरूलाई बोधार्थ दिँदै डिभिजन वन कार्यालय, भक्तपुरसँग यस्ता गतिविधि नियन्त्रण गर्न सहयोग माग्नु ।
प्राणी उद्यान भक्तपुरमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा सरकारी स्रोतबाट नै सडक, खानेपानी र खेलकुद लगायतका संरचना बनिरहेका छन् । दैनिक अतिक्रमण बढ्दै छ । स्थानीय समुदायबाट समेत दैनिकजसो वन पैदावार चोरी निकासी हुने र कानुनी जटिलताले गर्दा कानुनी दायरामा ल्याउन नसकिएको भन्दै उद्यानले माघ ३ गते विभागलाई पत्र पठाएको थियो । सोही पत्रको बेहोरा उल्लेख गर्दै विभागले शुक्रबार (माघ ५ गते) डिभिजन वन कार्यालय भक्तपुरलाई त्यहाँ हुने वनजन्य अपराध कार्यहरूलाई कानुनी दायरामा ल्याउन अनुरोध गरेको हो ।
विभागका महानिर्देशक डा. सिन्धुप्रसाद ढुंगानाले वन कार्यालयलाई लेखेको पत्रमा भनिएको छ, ‘उल्लेखित प्राणी उद्यान राष्ट्रिय वन क्षेत्र नै भएको हुँदा वन ऐन २०७६ बमोजिम वनजन्य अपराध कार्यहरूलाई कानुनी दायरामा ल्याउनुहुन हुन अनुरोध छ ।’ यो पत्रको बोधार्थ वन तथा वातावरण मन्त्रालय, बाग्मती प्रदेश, हेटौंडा, प्रदेश वन निर्देशनालय, बाग्मती प्रदेश, हेटौंडा र राष्ट्रिय प्राणी उद्यान, भक्तपुरलाई दिइएको छ ।
उद्यान बनाउने हालसम्म के–के भए ?
२०७१ माघ १० गते स्वर्गीय सुशील प्रसाद कोइराला प्रधामन्त्री, महेश आचार्य वनमन्त्री र भक्तपुरबाट निर्वाचित सांसद महेश बस्नेत उद्योगमन्त्री भएको समयमा मन्त्रिपरिषद्बाट उक्त क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान (प्रकृतिक चिडियाखाना) बनाउने निर्णय पारित भएको थियो ।
केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७३ असार ९ गते प्राणी उद्यानको शिलान्यास पनि भयो २०७३ असारमा । शिलान्यासको २ वर्षभित्रमा वन्यजन्तु तथा पशुपन्छी राखेर सञ्चालन गर्ने भनेको पनि ७ वर्ष भयो । तर, काम भएन । वन तथा वातावरण मन्त्रालयले राष्ट्रिय प्राणी उद्यानको गुरुयोजना स्वीकृत नगर्दा उद्यानको कुनै पनि काम नभएको बताइन्छ ।
कति छ क्षेत्रफल ?
वन तथा भू–संरक्षण मन्त्रालयले भक्तपुर जिल्लाको साविक तीन वटा गाउँ विकास समिति अर्थात् हालका दुई वटा नगरपालिका, ७ वटा सामुदायिक वन र राष्ट्रिय वनको केही भाग समेटेर उद्यानको रूपमा विकास गर्ने काम सुरु गरेको थियो ।
साविकको सिपाडोल, कटुञ्जे र गुण्डु गाविससहित हालको अनन्तलिंगेश्वर र सूर्यविनायक २ वटा नगरपालिका क्षेत्रको कुल २४५.१६५ हेक्टर वन क्षेत्रलाई उद्यानको रुपमा विकास गर्ने लक्ष सरकारको थियो ।
प्राकृतिक चिडियाखाना स्थापना र विस्तार गर्दै लैजाने वन नीति, २०७१ बमोजिम मन्त्रिपरिषद्को २०७१ माघ २९ मा नीतिगत निर्णय भएको थियाे । २०७१ चैत १६ को राजपत्रमा सूचना प्रकाशन गरी चार किल्ला पनि तोकियो । तर, अहिले सोही चार किल्ला सरकारले जोगाउन सकेको छैन । यसका लागि २०७२ श्रावण २० मा मन्त्रीस्तरीय निर्णयबाट राष्ट्रिय प्राणी उद्यान केन्द्र सञ्चालन निर्देशिका २०७२ स्वीकृत गरी लागू पनि भइसकेको यतिका वर्ष बितिसकेको छ ।
प्रतिक्रिया दिनुहोस