हिउँ परेन, उजाड छ कश्मिर
- नेचर खबर
काठमाडाैं - १७ वर्षदेखि कश्मिरमा होटल चलाउँदै आएका मन्जुर अहम्मदले कश्मिरलाई कहिल्यै हिँउँविहीन देख्नुपरेको थिएन । तर यो वर्ष उनले देखेको कश्मिर निकै उजाड छ ।
हरेक वर्ष हजारौँ पर्यटकले भरिने कश्मिर यसपटक सुनसान छ । हिउँमा खेलिने खेल स्किइङ तथा दृश्यावलोकनका लागि आउने हजारौँ पर्यटकको हुल यसपटक कता गयो अहम्मदले अड्कल लाउन सकेका छैनन् । ५० वर्षीय अहम्मदका लागि कश्मिरको सन्नाटा निकै अप्रत्यासित थियो ।
‘पर्यटकहरुले कश्मिरमा होटल बुक गर्न छोडे । हरेक वर्ष हिँउसँगै बाक्लै पर्यटक आउँथे । हिँउ हराएपछि पर्यटक पनि हराए,’ उनले बीबीसीसँग भनेका छन् । कश्मिरमा हिँउ नपर्दा पर्यटन निकै संकटमा परेको छ ।
हरेक वर्ष को जनवरीमा कश्मिरमा १ लाख पर्यटक पुग्ने गर्थे, जबकि यसपटक ३० हजार पनि आएनन् । जलवायु परिवर्तनले त्यहाँको अर्थतन्त्रमा निकै संकट ल्याएको छ । जम्मु कश्मिरको कुल ग्रार्हस्थ्य उत्पादनमा ७ प्रतिशत योगदान गर्ने पर्यटन क्षेत्र यसपटक गहिरो संकटमा फसेको छ ।
हिउँ नपर्दा जमिनमुनि पानी समेत कम भण्डारण हुने भएपछि त्यहाँ खेतीपाती तथा खानेपानीका लागि अप्ठ्यारो हुने भएको छ । वातावरणविद्हरुका अनुसार यस क्षेत्रले जाडो र गर्मी याम दुबैमा खडेरी खेपेको छ । कश्मिरको मौसम विभागका अनुसार त्यहाँ डिसेम्बरमा वर्षातमा ७९ प्रतिशतले कमी आएको र जनवरीमा सत प्रतिशत वर्षात नहुने देखिएको छ । हिउँदे वर्षात नहुँदा त्यहाँको तापक्रम ६ देखि ८ डिग्री सेल्सियसले बढेको छ ।
वर्षात नहुँदा हिउँ पर्न सकेको छैन । हिउँ नपरेको खबर पाउँदा यस समयका लागि होटल बुक गरेका ४० प्रतिशत पर्यटकले बुकिङ स्थगन गरेको पर्यटन व्यवसायीहरु बताउँछन् । आएका पर्यटकहरु पनि त्यहाँको दृश्य देखेर निराश छन् । महाराष्ट्रबाट कश्मिर पुगेका राजकुमारले भने-‘हामी हिउँ परेको दृश्य हेर्दै केबलकारमा शयर गर्न आएका थियौँ । यहाँको दृश्यले हामीलाइ निकै निराश बनायो ।’
कश्मिर हिउँविहीन हुँदा परिवार पाल्न मुस्किल भएको स्थानीय व्यवसायीहरु बताउँछन् । ‘हाम्रो दैनिकीनै हिउँका कारण चलेको थियो। हिउँ हराएसँगै हाम्रो अर्थोपार्जनको माध्यम हरायो । कश्मिरमा हिँउ नहुनु भनेको हाम्रो कष्टप्रद समय सुरु हुनु हो,’ तरिक अहम्मदले बीबीसीसँग भने ।
कश्मिर हिँउले भरिदा शोकत अहम्मदलाइ स्की चलाउन भ्याइनभ्याइ हुन्थ्यो । २७ वर्ष स्की प्रशिक्षक रहेका उनी अब के गर्ने भन्ने विलखबन्दमा छन् । ‘२७ वर्ष हिउँसँगै खेलियो । अब अर्को पेशा अपनाउन पनि सकिन्न होला,’ उनी भन्छन् ।
पर्यटनका अलावा कृषि पेशा पनि यो परिस्थितिका कारण संकटतर्फ गइरहेको छ । भारत शासित मात्रै नभएर छिमेकी लद्दाखमा पनि यस्तै अवस्था रहेको छ । वातावरणविद् सोनाम वाङ्चुकले भनेका छन्-‘यहाँको कृषि नै हिउँमा निर्भर छ । जाडोको उत्कर्षको समयमा हिउँ नपर्दा वा तीव्र गतिमा हिउँमा पग्लिँदा कृषकहरु समस्या पर्ने निश्चित छ । अहिले हिउँ नपर्नुको अर्थ खडेरीको संकेत पनि हो,’ उनले भने ।
कश्मिर अहिलेसम्कै सुख्खा अवस्थमा रहेको मौसमविद् सोनम बताउँछन् । ‘कश्मिर अहिलेसम्मकै सुख्खा स्थितिमा छ । यसपाली यहाँ खडेरी निश्चित छ,’ उनले भने ।
जाडो याममा २१ डिसेम्बर देखि २९ डिसेम्बरसम्म करिब ४० दिन त्यहाँ हिउँ पर्ने गर्थ्यो । त्यही हिउँले ग्लेसियर छोप्ने हुँदा वर्षभरीको खानेपानी जोहो हुन्थ्यो । हिउँ नपर्दा जमिनमा जम्मा भएका पानी समेत सुक्ने खतरा भएपछि स्थानीयहरु अहिले पानीका लागि पुजा गर्न थालेका छन् ।
१९९० को दशकअघिसम्म त्यहाँ लगभग तीन फिट जति हिउँ पर्ने र त्यस हिउँ बस्न ऋतुसम्मै रहने गरेको शहिकल अम्मदको भनाइ छ । ‘हरित ग्यास उत्सर्जन गर्नेमा कश्मिर निकै तल्लो सुचीमा छ । वातावरण संरक्षणमा सचेत कश्मिरनै जलवायु परिवर्तनको पीडामा परेको छ,’ उनले भने ।
शहिकल सहितको टोलीले लद्दाखलाइ समेत समेट्दै त्यहाँ निकै भयावह अवस्था आउनसक्ने दाबी सन् २०२० मा गरेका थिए । उनीहरुले त्यहाँको तापक्रम ३.९८डिग्री सेल्सियस देखि ६.९३सेल्सियसम पुग्ने प्रक्षेपण गरेका थिए ।
यो अवस्थामा स्थानीयहरुले अझै केही चमत्कारको पर्खाइमा छन् । २४ जनवरीसम्म त्यहाँ हिउँ नै नपर्ने मौमस विज्ञान विभागले भनिसकेको छ । जम्मु-कश्मिरको जलवायु संकटबारे प्रक्षेपण गरिसकेका शहकिल भन्छन्-‘ आशा गरौँ प्रकृतिले हामीप्रति दया गर्नेछ ।’ - बीबीसीबाट अनुवाद
प्रतिक्रिया दिनुहोस