जब उच्च हिमाली क्षेत्रमा बस्ने हिउँचितुवा मध्य तराईमा देखियो…

काठमाडौं – उच्च हिमाली क्षेत्रमा बस्ने दुर्लभ हिउँचितुवा पहिलोपटक तराइमा भेटिएको छ । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित झारसाँदीमा मंगलबार हिउँचितुवा भेटिएको हो ।

प्राय हिमचितुवा समुन्द्री सतहबाट ३,००० देखि ५,५०० मिटर उचाइमा बस्छ । तर, अहिले पाइएको क्षेत्र उर्लाबारी समुद्र सतहदेखि १२५ मिटरको उचाइमा पर्छ ।

मंगलबार दिउँसो मोरङको उर्लाबारीमा भेटिएको हिमचितुवा भाले भएको र यसको मंगलबार बेलुका ५ बजे उद्दार गरिएको कोशीटप्पु वन्यजन्तु आरक्षका कायममुकायम प्रमुख संरक्षण अधिकृत रमेश यादवले जानकारी दिए ।

‘कमन लेपर्ड (चितुवा) भनेर उद्दारको लागि हाम्रो टोली गएको थियो । तर, हेर्दै गएपछि स्नो लेपर्ड (हिउँचितुवा) रहेको थाहा भयो,’ यादवले भने ।



उद्दार गरिएको हिउँचितुवाको तौल अन्दाजी ४० किलोग्राम छ । बाँसको झ्याङमा लुकेर बसेको अवस्थामा वन्यजन्तु विज्ञको टोलीले डार्ट (औषधिजन्य सुई) प्रहार गरी बेहोस बनाएर चितुवालाई नियन्त्रणमा लिइएको हो ।

माथिल्लो हिमाली इलाकामा देखिने हिउँचितुवा तराई क्षेत्रमा देखिनु वन्यजन्तुकर्मीहरूको लागि नौलो घटना हो । उद्धार गरिएको उक्त हिउँचितुवालाई ललितपुरस्थित चिडियाखानामा ल्याइने तयारी भएको यादवले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics