चिकेन र पानी खाएर चिडियाखानामा बस्यो हिउँ चितुवा

काठमाडों – गत बुधबार मोरङको उर्लाबारी–१ चारघरे क्षेत्रमा भेटिएको हिउँ चितुवालाई सदर चिडियाखानामा पानी र चिकेन (कुखुराको मासु) खुवाएर राखिएको छ ।

गत मंगलबार (माघ ९) समुद्र सतह भन्दा १४६ मिटरको उचाइमा रहेको चारघरे स्थित बाँसघारीमा भेटिएको हिउँ चितुवाको उद्धार गरेर बुधबार विहान चिडियाखाना ल्याइएको थियो । प्राय हिमचितुवा समुन्द्री सतहबाट ३,००० देखि ५,५०० मिटर उचाइमा बस्छ ।

पछाडीएको एउटा खुट्टामा चोट लागेको र राम्ररी हिँड्न नसक्ने अवस्थामा रहेको उक्त हिउँ चितुवाले विहीबार पानी खाएको र शुक्रबार कुखुराको मासु खाएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. सिन्धु प्रसाद ढुंगानाले बताए ।

उनले अहिलेको पहिलो प्राथमिकता भनेको यसको उपचार नै भएकाले बाँकी विषय र अनुसन्धान क्रमश हुँदै जाने समेत बताए । यसलाई तस्करी गरेर मोरङ सम्म ल्याइएको वा आफै बाटो बिराएर लामो यात्रामा आएको भन्ने विषय पनि अहिले अनुसन्धानकै क्रममा रहेको बताँदै उनले भने, ‘हामी यसको वास्तविक अवस्था बुझिरहेका छौं । पहिलो काम उद्धार र उपचार हो । यसपछि यसको व्यवस्थापनका विषयमा ध्यान दिने छौंं ।’

उनले शुक्रबार चिडियाखाना परिसरमा आयोजित पत्रकार सम्मेलनमा यसको विषयमा विज्ञबाट फरक फरक धारणा पनि आइरहेकाले सबै सँग बसेर अन्तरक्रिया गरी निस्कर्षमा पुग्ने र समिति बनाएर नै अनुसन्धान हुने पनि बताए ।

उक्त हिउँ चितुवाको पछाडिको बायाँ खुट्टा टेक्न असहज भएको, बाहिरी कुनै किसिमको चोट नदेखिएको र अन्य अवस्था समान्य रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले उर्लाबारीमा भेटिएको चितुवालाई सानैदेखि मानिसहरुले संरक्षण गरेर राखेको र पछि आक्रामक भएर छाडेको हुनसक्ने आशंका पनि गरेका । विज्ञहरूका धेरै अड्कलबाजी छन् तर यसै भएको हो भनेर कसैले भन्न सकेका छैनन् ।



वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले हिमालमा बस्ने हिउँ चितुवा गर्मीस्थान मोरङको उर्लाबारीमा भेटिनु भनेको जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावको पहिलो इन्डिकेटर पनि हुनसक्ने बताए । उनले बासस्थानको हिसाबमा माथि जानुपर्नेमा हिउँ चितुवा हिमालबाट तराई झरेकाले अध्ययनको विषय बनाइनुपर्ने पनि बताए । उनले मन्त्रालयले विज्ञसहितको अध्ययन कार्यदल बनाएर अध्ययन गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

वन्यजन्तु विज्ञ करण शाह तस्करी गर्ने उद्देश्यले ल्याएको हुनसक्ने अनुमान गर्छन् । उनी अहिले भेटिएको स्थानमा अन्य कुनै कारणबिना हिउँ चितुवा भेटिनु अस्वभाविक भएको दाबी गर्छन् । यो अनुसन्धानको विषय भएको अन्य वन्यजन्तु विज्ञहरू पनि बताउँछन् ।

नेपालमा हिउँ चितुवा पूर्व कञ्चनजंघाबाट पश्चिम अपि नाम्पा संरक्षण क्षेत्रसम्म मुख्यगरी हिमाली क्षेत्रमा पाइन्छ । नेपाललगायत मध्य तथा दक्षिण एसियाका १२ देशमा पाइने हिउँ चितुवा स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचक एवं प्राकृतिक खाद्य शृंखलाको उच्च तहमा रहेको प्रजाति हो ।

विश्वमा पाँच सय मिटरदेखि पाँच हजार आठ सय मिटरको उचाइमा र नेपालमा हिउँ चितुवा दुई हजार मिटरदेखि छ हजार मिटरसम्मको उचाइमा पाइएको छ । हिमाली क्षेत्रको १२ संरक्षित क्षेत्र तथा आसपासका क्षेत्रमा करिब १२ हजार आठ सय १५ वर्ग किलोमिटर क्षेत्रमा सम्भावित बासस्थान रहेको छ ।

विश्वमा यसको अनुमानित संख्या तीन हजार नौ २१ देखि छ हजार दुई ९० रहेको छ । नेपालमा तीन सय एकदेखि चार सय संख्यासम्म रहेको अनुमान गरिएको छ । यो प्रजाति संवेदनशील वर्गमा र नेपालको संरक्षित सूचीमा पर्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics