बाँदरको बन्ध्याकरण सिक्न सांसद जाने कि प्राविधिक ?
- नेचर खबर
काठमाडौं – नेपालमै बाँदरहरूको बन्ध्याकरण गर्ने विषयमा तालिम लिन १० जना भेटेरिनरियन र पाँचजना रेन्जरसहितको टोली भारत जाने तयारीमा छन् ।
उनीहरू प्रविधिक ज्ञान लिन जाने तयारी भए पनि यता १९ जना सांसद पनि बाँदर बन्ध्याकरणबारे अध्ययन गर्न भारत जान लागेको खुलेको छ ।
भेटेरिनरियन र रेन्जरसहितको टोलीले त सीप सिकेर आएपछि बाँदरको बन्ध्याकरण सहज हुनेछ । तर, सांसदको अध्यनले उपलब्धि के भन्ने प्रश्न उठ्न थालेको छ ।
यही माघको अन्तिम वा फागुनको पहिलो साता भारत भ्रमणका लागि १९ जना सांसदले रुचि देखाएर नाम टिपाएको संसद्को कृषि समितिले जानकारी दिएको छ ।
यता बाँदरको बन्ध्याकरण गर्न कुनै जटिलता नभएको पशु चिकित्सक बताउँछन् । तर, यसबारे थप तालिम लिन प्राविधिकहरू जाने तयारी भइरहेका बेला १९–१९ जना सांसदहरू सरकारी खर्चमा बन्ध्याकरण अध्ययन भ्रमणमा गएर राष्ट्रलाई के उपलब्धि होला छानबिनको विषय बनेको छ ।
को को हुन् ती १९ सांसद ?
–योगेन्द्र मण्डल
–अनिशा नेपाली
–रूपा सोसी चौधरी
–नवलकिशोर शाह सुडी
–विनिता कठायत
–अमृतलाल राजवंशी
–अशोककुमार चौधरी
–विजुला रायमाझी
–बिरबहादुर बलायर
–मनवीर राई
–सरस्वती सुब्बा
–मीना तामाङ
–योगेन्द्र मण्डल
–कुसुमदेवी थापा
–गंगाप्रसाद यादव
–दिक्पालकुमार शाही
–सूर्यकुमार श्रेष्ठ
–सूर्यप्रसाद ढकाल
–रुपा विक
के भन्छन् चिकित्सक ?
नेपालमा बाँदरको बन्ध्याकरण हुन्छ कि हुँदैन भन्ने प्रश्न अहिले चर्चाको विषय हो । केन्द्रीय रिफरल पशु चिकित्सालयका अनुसार नेपालमै बाँदरको बन्ध्याकरण गर्ने गरिन्छ । घरमा पालेका बाँदरको पशु चिकित्सालयमा लगेर बन्ध्याकरण गरिन्छ ।
बाँदरको बन्ध्याकरण गर्ने विधि अरु जनावरको जस्तै हो । अस्पतालमा ल्याएका बाँदरको मात्र बन्ध्याकरण हुने भएकाले र त्यो संख्या निकै कम भएको पशु चिकित्सक डा. शर्मिला चापागाईं काफ्ले बताउँछिन् । उनी एकैपटक ठूलो संख्यामा बन्ध्याकरण गर्नुपरे जनशक्तिको अभाव हुने तर्क गर्छिन् ।
यसका लागि जनशक्ति बढाउन अध्ययन अध्यापन वा तालिमको आवश्यकता पर्न सक्छ । यही कारण १० जना भेटेरिनरियन र पाँचजना रेन्जरसहितको टोली तालिमका लागि भारत जाने तयारीमा रहेको हो ।
प्रतिक्रिया दिनुहोस