‘बिउँझियो’ चन्द्रमाको सतहमा पुगेको जापानको यान

काठमाडौं - चन्द्रमाको सतहमा रहेको जापानको चन्द्रयानले एक सातापछि पुन: आफ्नो क्रियाकलाप सुरु गरेको छ । ‘स्लिम’ नाम दिइएको उक्त यान विद्युत् आपूर्तिमा समस्या आएपछि एक सातादेखि बन्द थियो ।

उक्त यान यही जनवरी २० मा चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण भएको थियो । तर यसमा लागेका सोलार ब्याट्री सूर्यभन्दा विपरीत दिशातर्फ फर्किएकाले ऊर्जा उत्पादन गर्न सकेका थिएनन् ।

चन्द्रमाको सतहमा अवतरण गरेको केही घण्टासम्म यसमा जडान गरिएका ब्याट्रीबाटै काम गरेको थियो । तर पछि अधिकारीहरुले सौर्य ऊर्जाबाट ब्याट्री रिचार्ज हुने सम्भावनालाई ध्यानमा राख्दै बन्द गरिदिएका थिए ।

जापानको अन्तरिक्ष अनुसन्धान संस्था जाक्साले उक्त चन्द्रयानसँग आइतबार राति पुन: सम्पर्क स्थापना भएको जनाएको हो । सूर्यको प्रकाश प्राप्त गर्ने अवस्था भएपछि यसका सोलार ब्याट्रीले काम गर्न थालेको ‘जाक्सा’ ले जनाएको छ ।

चन्द्रमाको सतहमा सफलतापूर्वक चन्द्रयान अवतरण गराउने जापान-अमेरिका, पूर्वसोभियत संघ, चीन र भारतपछि विश्वको पाँचौं देश हो । जापानी चन्द्रयान ‘स्लिम’ ले चन्द्रमाको उत्पत्तिबारे सूचना हासिल गर्न यहाँ रहेका चट्टानका संरचनाको विश्लेषण गर्ने बताइएको छ । उक्त चन्द्रयान चन्द्रमाको भूमध्य रेखानजिकै रहेको ‘शिओली’ नामको खाडलको ५५ मिटर दूरीभित्र अवतरण गरेको थियो ।

जाक्साले यसलाई अभूतपूर्व दुरुस्त अवतरण भनेको छ । निर्धारित स्थानमै अवतरण गराउन सकिने प्रविधिको प्रयोग भावी दिनमा चन्द्रयानहरुलाई चन्द्रमाको ध्रुवहरुमा अवतरण गराउन प्रयोग गर्न सकिने जाक्साले जनाएको छ । चन्द्रमाका उच्च पहाडी ध्रुवहरुमा पानी, अक्सिजन र इन्धनको सम्भावित स्रोत फेला पर्न सक्ने सम्भावना रहेको जनाइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics