…अनि रोकियो ‘बाँदर धपाउन रूख काट्ने’ तयारी
- नेचर खबर
काठमाडौं – माघ १५ अर्थात् सोमबार ‘मेरो रुख म काट्छु’ भन्ने अभियान संचालन गरि आ– आफ्नो घर वरपर रहेका सम्पूर्ण रूखहरू कटान गर्न पोखरा महानगरपालिका– १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले वडाका स्थानीयका लागि सूचना जारी गरे । उनले सूचनामा १० दिन भित्र उक्त कार्य सक्न र यो अभिया बाँदर नियन्त्रणका लागि प्रदेश सरकारकै भएको पनि खुलाए ।
उक्त सूचनमा भनिएको छ, ‘...कास्की जिल्ला पोखरा महानगरपालिका साविक लामाचौर पुरुन्चौर क्षेत्र बाँदरबाट अति प्रभावित क्षेत्र भएको र हाल प्रदेश सरकारले आ.व. ०८०÷०८१ को निति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रण सम्बन्धि निति पास गरेको हुँदा आजको मितिले १० दिन भित्र ‘मेरो रुख म काट्छु’ भन्ने अभियान संचालन गरि आ– आफ्नो घर वरपर रहेका सम्पूर्ण रुखहरु कटान गरि प्रदेश सरकारको निति तथा कार्यक्रमलाई सहयोग पुर्याउनको साथै आ–आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउनको लागि वडा कार्यालयको तर्फबाट सम्पूर्ण वडाबासीको लागि यो सूचना प्रकाशित गरिन्छ ।’
वडाध्यक्षको यो निर्णय सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा भाइरल भयो । वन र वातावरण क्षेत्रमा काम गर्नेहरूले बिरोध गरे । कतिले त भने, ‘टाउकोमा जुम्रा परे टाउकै काट्ने अध्यक्ष ज्यू ?’ यस्ता आक्रोसले सोमबार र मंगलबार सामाजिक सञ्जाल तातियो । अनि मंगलबार एकसाथ दुई वटा फरक–फरक पत्र सार्वजनिक भए । पहिलो पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालयको र दोस्रो पहिले सूचना निकाल्ने वडाध्यक्षको नै ।
महानगरको नगर कार्यपालिका कार्यालयबाट वरिष्ठ कानून अधिकृत नारायणप्रसाद शर्माले वडालाई पत्र लेख्दै सूचना रद्ध गर्न भने । उनले लेखेको पत्रमा भनिएको छ, ‘...तहाँ वडा कार्यालयबाट मिति २०८०÷१०÷१५ मा प्रकाशित भएको रूख काट्ने सम्बन्धि सार्वजनिक सूचना प्रकाशन भएको देखियो । उक्त सूचना अविलम्ब रद्ध गरी रुख कटान गर्ने कार्य बन्द गर्नुहुन अनुरोध गरिन्छ ।’
अनि रोकियो उक्त निर्णय । मंगलबार नै पहिले काट्नु भन्ने वडाध्यक्ष पुष्पेन्द्र पाण्डे नगरपालिकाको पत्र पाएपछि पत्र अनुसार गर्नु भन्दै जानकारी सार्वजनिक गरे । त्यहाँ भने, ‘...यस कार्यालयबाट मिति २०८०÷१०÷१५ गते प्रकाशित बाँदर नियन्त्रणका लागी रुख कटान गर्ने विषयक सूचना सम्बन्धमा पोखरा महानगरपालिका नगरकार्यपालिकाको कार्यालयबाट प्राप्त निर्देशन अनुसार गर्नु गराउनुहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ ।’
मंगलबार नै वडाले गरेको अनुरोधलाई पोखराका मेयर धनराज आचार्यले विरोध जनाएका थिए । फेसबुकमार्फत उनले नगरपालिकाले निर्णय नगरेको भन्दै रुख नकाट्न आग्रह गरे । उनले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको पनि बताए ।
‘आफ्नो रुख आफैं काटौं अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सूचना प्रकाशित भएको सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन बमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएकोले सो सम्बन्धि कुनै पनि कार्य (रुख काट्ने, फाड्ने) नगर्नु नगराउनुहुन सम्बन्धित सबैलाई जानकारी गरासकिएको छ । भ्रममा नपर्नुहुन अनुरोध छ,’ मेयर आचार्यले फेसबुकमा लेखेका छन् ।
कस्ता कस्ता आए सूचना र पत्र ?
प्रतिक्रिया दिनुहोस