बाँदरबाट बाली जोगाउन कुकुरलाई बाघ बनाएपछि…

काठमाडौं – नेपालमा बाँदरले बालीनाली सखाप बनाएर हैरानी दिएको खबर दैनिक आइरहेका छन् । अझै स्थानीय तहले त बाँदर भगाउन रूखै काट्ने अभियानका समाचार भाइरल पनि भइरहेका छन् ।

रूख काट्ने र जाल थाप्ने लगायतका उपाय धेरैले अपनाए नेपालमा । तर, नेपाल भन्दा भारतका धेरै किसानले यो समस्या भोगिरहेका छन् । त्यहाँ उपाय खोज्दा–खोज्दै रोचक उपाय पनि निकालिएको समाचार सार्वजनिक हुने गरेका छन् ।

बाँदरको बदमासीबाट आजित भारतको कर्नाटकका एकजना किसानले बाँदर धपाउने अनौठो उपाय अपनाएका छन् । ती किसानले बाँदरबाट आफ्नो बाली जोगाउनका लागि आफ्नो घरको कुकुरलाई बाघ बनाइदिएका छन् ।

कुकुरलाई बाघ कसरी बनाउन सकिन्छ ? ती किसानले गज्जबको आइडिया लगाए । उनले आफ्नो कुकुरलाई ठ्याक्कै बाघको जस्तै गरी रंग लगाइदिएका छन् । जसका कारण त्यो कुकुर ठ्याक्कै पाटेबाघ जस्तो देखिन्छ ।

खुसीको कुरा त के छ भने यो ‘बाघ’ आइडियाले निकै काम गरेको छ । बाघ बनाइएको यो कुकुरबाट बाँदर तर्सिन थालेको छ । कुकुरलाई साँच्चीकै बाघ ठानेपछि बाँदरहरू खेतको आसपास आउन समेत डराएका छन् ।

आशा गरौँ यो कुकुरले आफ्नो बाघ अवतार कायमै राख्नेछ । यसले बाँदरका अगाडि भुलेर पनि भुक्ने छैन । यदि भुक्न थाल्यो भने त बाँदरले पत्तो पाइहाल्ने छन् । ती किसानले कुकुरलाई बाघ बनाउनका लागि सामान्य रङको प्रयोग नगरी हेयर डाईको प्रयोग गरेको बताएका छन् । - एजेन्सीकाे सहयाेगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics