दिलीप महतो हत्या प्रकरणमा जिल्लाकै फैसला सदर

काठमाडौं — नदी दोहन रोक्ने अभियानमा लागेका दिलीप महतो हत्या प्रकरणमा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसलालाई सदर गरेको छ ।

मिथिला नगरपालिका–५ श्रीपुरका महतोको २०७६ पुस २५ गते राति घरनजिकैको औरही खोलामा टिपरले किचेर हत्या गरिएको थियो ।

उच्च अदालत सरकारी वकिल कार्यालयका प्रमुख कोषहरि निरौलाका अनुसार बुधबार भएको बहसपछि महतोको हत्या आरोपी रहेका तीनैजनाको हकमा जिल्ला अदालतले सुनाएको फैसला नै सदर गरिएको हो ।

उच्च अदालत जनकपुरका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र ध्रुवकुमार पियाको संयुक्त इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गरेको रजिस्ट्रार यमबहादुर बुढामगरले बताए ।

जिल्ला अदालत धनुषाले २०७९ फागुन १२ गते तीन जनालाई कैद र जरिवानाको फैसला गरेको थियो । हत्याका मुख्य योजनाकार भनिएका चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई २५–२५ वर्ष कैद र ५–५ लाख क्षतिपूर्ति तिर्न जिल्ला अदालत धनुषाले फैसला गरेको थियो ।

हत्याका मतियार भनिएका जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र २ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति तिराउन जिल्ला अदालतको फैसला थियो । त्यो सजाय पर्याप्त नरहेको भन्दै दिलीपको परिवार उच्च अदालत पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले ७ जनालाई अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो । जिल्ला अदालतले क्रसर सञ्चालक विपीनका दाइ विनोद महतो, कामदार सत्यनारायण महतो, शत्रुघन महतो र रोशनकुमार यादवलाई सफाइ दिएको थियो ।

उच्च अदालतको फैसलाप्रति पनि दिलीपको परिवार असन्तुष्ट छन् । दिलीपकी बहिनी लक्ष्मी महतोले उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत जाने बताइन् । दिलीपको परिवारले भने अभियुक्तहरुलाई आजीवन कैदको माग गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics