२०५० सम्ममा नदीहरूले गुमाउनेछन् सफा पानी

काठमाडौं – बढ्दो नाइट्रोजन प्रदूषणले आगामी २६ वर्षमा विश्वभर पानीको चरम अभाव हुन सक्ने एक नयाँ अध्ययनले देखाएको छ । नाइट्रोजन प्रदूषणका कारण सन् २०५० सम्ममा विश्वव्यापी रूपमा एक तिहाइ नदीहरूले सफा पानीको चरम अभावको सामना गर्न सक्ने वैज्ञानिकहरू दाबी गर्छन् ।

पानी अभाव र पानीमा हुने गुणस्तर ह्रासले सन् २०५० सम्ममा पहिलेको तुलनामा ३ अर्ब बढी मानिसलाई असर गर्न सक्ने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् । बढ्दो प्रदूषणका कारण नदीका मुहानहरू मानव र अन्य प्राणीका लागि ‘असुरक्षित’ हुने डर बढ्दै गएको अनुसन्धानमा संलग्न वैज्ञानिक बताउँछन् । यसको मतलब पहिले नै पानीको संकटबाट गुज्रिरहेको विश्वले अझ बढी कठिनाइहरूको सामना गर्नुपर्नेछ ।

यस अध्ययनमा अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको टोलीले विश्व स्तरमा १० हजारभन्दा बढी नदीहरूको विश्लेषण गरेका छन् । यस विश्लेषणका अनुसार अत्याधिक रूपमा बढ्दै गएको नाइट्रोजन प्रदूषणले पानीको अभाव भोगिरहेका नदीको संख्या मात्रै बढेको छैन, पानीको गुणस्तरमा समेत असर गरेको छ । यो अध्ययन नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित छ ।

पछिल्लो समय विश्वमा ठूलो मात्रामा सहरी जनसंख्या र आर्थिक गतिविधिहरू नदी उपत्यकाहरूमा केन्द्रित छन् । यस्तो अवस्थामा उनीहरूको जलमार्ग दूषित हुने खतरा सधैं रहन्छ ।

बढ्दो जनसंख्या, जलवायु परिवर्तन र तापक्रमले समस्या
विश्वव्यापी रूपमा बढ्दो तापक्रम, जलवायु परिवर्तन र पानीको बढ्दो मागले पहिलेदेखि नै पानीको संकट थपिरहेको छ । यस्तो अवस्थामा नाइट्रोजन प्रदुषणको बढ्दो चापले यो समस्यालाई थप गम्भिर बनाउनेछ ।

बढ्दो नाइट्रोजन प्रदूषणको कारणलाई हेर्दा वैज्ञानिकहरूले यसको लागि कृषि र बढ्दो सहरीकरणलाई जिम्मेवार ठहर गरेका छन् । यी सबै नदीलाई दूषित पार्नमा ढलको पनि ठूलो भूमिका छ । जसले हाम्रो स्वास्थ्य र वातावरणमा फर्केर असर गरिरहेको छ ।

नाइट्रोजन बोटबिरुवा र जनावरहरूको वृद्धिको लागि एक आवश्यक पोषक तत्व हो, तर वातावरणमा यसको अत्यधिक मात्राले पारिस्थितिक प्रणाली र सफा पानीको गुणस्तरलाई असर गर्न सक्छ । तर, वैज्ञानिकहरू भन्छन्, ‘अब ढिलो छैन, हामीसँग विकल्पहरू छन् र हामी स्थिति सुधार गर्न सक्छौं ।’ –एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics