अब सगरमाथा आरोहीले ‘दिसा’ फिर्ता ल्याउनु पर्ने !

काठमाडौं – अब सगरमाथा र ल्होत्से हिमाल चढ्ने पर्वतारोहीहरूले दिसा गरेपछि सगरमाथामा छोड्न नपाउने भएका छन् । हिमाली क्षेत्र मानव दिसाले दुषित हुन थालेपछि यस क्षेत्रका स्थानीय तहले यस्तो कडाई गर्न लागेका हुन् ।

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार अबदेखि दिसा गरेपछि सगरमाथामा छोड्न नपाउने र आफूसँगै आधार शिविरमा फिर्ता ल्याउनुपर्ने नियम बनाईँदै छ ।

हिमालका ढुङ्गामा दिसा देखिएको र पर्वतारोहीहरू बिरामी पनि परेको गुनासो आएपछि यस्तो नियम ल्याउन लागेको उनी बताउँछन् । भन्छन्, ‘हिमाल फोहोर भयो यो कदापि हामीलाई स्वीकार्य छैन र यसले हाम्रो छवि बिगार्छ ।’

दुई हिमाल चढ्ने आरोहीहरूले अब आधारशिविरबाटै आफ्नो दिसा राख्न झोला किनेर लग्नुपर्ने हुन्छ । उनीहरू फर्केएिपछि त्यो झोलाको जाँच पनि गरिने छ । आधारशिविरमा आरोहीहरू लामो समय बस्दा पालभित्र मलमूत्र जम्मा हुने ठूला भाँडा राखिएको हुन्छ । आरोहण सुरु गरिसकेपछि भने शौच गर्ने ठाउँ मिलाउन नसक्दा आरोही र तिनका सहयोगीहरूले सम्भव भएसम्म खाल्डो खनेर दिसा गर्दै आएका छन् । तर, हिमालमा माथिल्ला केही भागमा भने हिउँ कम हुने भएकाले खुला ठाउँमा नै शौच गरिँदै आएको छ ।

सगरमाथामा अत्यधिक चिसो हुने भएकाले मानवमल सड्दैन । त्यहाँको तापक्रम –४२ डिग्री सेल्सिअससम्म झरेको अभिलेख छ । सगरमाथा चढ्नेमध्ये धेरै कमले मात्र आफ्नो मलमूत्र झोलामा राखेर फिर्ता ल्याउँछन् ।

विशेष गरी सफाइका लागि पुग्न नसकिने उच्च शिविरहरूमा मानवमल ठूलो समस्याको रूपमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति नामक गैरसरकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत छिरिङ शेर्पा बताउँछन् ।

आधिकारिक तथ्याङ्क उपलब्ध नभए पनि सगरमाथाको फेदमा रहेको क्याम्प वन र चुचुरोनजिक रहेको क्याम्प फोरका बीचमा करिब तीन टन मानवमल रहेको उनको संस्थाको अनुमान छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाको अनुमतिसहित सगरमाथा प्रदूषण नियन्त्रण समितिले आगामी मार्चबाट सुरु हुने आरोहण मौसमका लागि संयुक्त राज्य अमेरिकाबाट मानवमल हाल्ने झन्डै ८,००० वटा झोला किन्न थालेको छ । ती झोलामा हुने रसायन र धुलोले दिसालाई ठोस बनाई गन्धरहित बनाउँछन् ।

आठ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ वटा हिमाल आरोहण गर्ने प्रथम नेपाली नागरिक मिङ्मा शेर्पाले मानवमल व्यवस्थापनका लागि यस्ता झोला अन्य हिमालहरूमा पनि प्रयोगमा रहेको बताए । औसतमा एक आरोहीबाट प्रतिदिन २५० ग्राम मल निस्किन्छ र आरोहणको क्रममा आरोहीहरू झन्डै दुई साता माथिल्ला शिविरहरूमा समय व्यतीत गर्छन् ।

नेपाल सरकारले विभिन्न समयमा पर्वतारोहणका लागि विभिन्न नियमहरू ल्याएको छ । तर ती नियम राम्ररी कार्यान्वयन भने भएका छैनन् । स्थानीय तहले ल्याएको यो नियम उदाहरणीय रहेन विज्ञ बताउँछन् । – बीबीसीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics