वन्यजन्तुको जोखिम न्यूनीकरण गर्न ३ किलोमिटर मेसजाली

चितवन - चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनबाट वन्यजन्तु मानव बस्तीमा पस्ने जोखिम न्यूनीकरण गर्न मेसजाली निर्माण गरिने भएको छ । वन्यजन्तु आगमनको उच्च जोखिम रहेको भरतपुर महानगरपालिकाका चार वडामा तीन किलोमिटरमा मेसजाली निर्माणको कार्य प्रारम्भ गरिएको हो ।

भरतपुरका वडा नं २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउने स्थानमा सुरुआती चरणमा मेसजाली निर्माणको काम हुनेछ । निर्माणकार्यको आज महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले सङ्घ र महानगरको रु दुई–दुई करोड गरी रु चार करोडको परियोजनाअन्तर्गत पहिलो चरणमा रु दुई करोड ७९ लाखको काम सुरु भएको बताइन् ।

छुटेका स्थानमा तत्काल सर्भे गरी नयाँ बोलपत्र आह्वान गरिने उनले बताइन् । मेसजाली निर्माणले वन्यजन्तुको जोखिम अन्त्य हुने विश्वास प्रमुख दाहालले व्यक्त गरिन् । भरतपुरका वडा नं ११, १२, ८, १३, २२, २३ हुँदै २८ सम्म वन्यजन्तुको जोखिम रहेको जनाउँदै उनले यी वडामध्ये सबैभन्दा उच्च जोखिम रहेको वडाबाट कामको थालनी गरिएको बताए ।

मेसजाली निर्माणको कार्यका लागि चार वडाको दक्षिणतर्फ जङ्गलको सिमानामा ठेक्का सम्झौता भएको महानगरका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले जानकारी दिए ।

गोले सनसाइन जेभी सुकेधारा काठमाडौँले २०८१ असार १५ गतेभित्र निर्माण सम्पन्न हुनेगरी ठेक्का सम्झौता गरेको छ । पश्चिम चितवनका निकुञ्ज तटीय क्षेत्रसँग जोडिएका बस्तीमा बाघ, हात्ती, गैँडा, बँदेललगायतका वन्यजन्तुले बर्सेनि ठूलो मात्रामा जनधनको क्षति पुर्याउँदै आएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics