के एआई ‘ईश्‍वर’ बन्न सक्छ ?

काठमाडौं - च्याटजीपीटीजस्ता आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रोग्र्यामहरूले के धार्मिक ग्रन्थहरूको रचना गरेर कुनै धार्मिक समूह गठन गर्न सक्लान् ?

के विज्ञानकथामा आधारित चलचित्रमा जस्तै मानिस यन्त्रको मोहमा पर्ला वा यन्त्रहरू नै ज्ञान र कानुनको स्रोत बन्लान्? एआई ल्याङ्विज मोडलमा भएको निरन्तर विकाससँगै यी यन्त्रहरूले नै नयाँ सम्प्रदाय त जन्माउँदैनन् ?

एआईका साधनहरूले चित्त बुझ्ने गरी छलफल गर्ने र समाचार, लेख र अनुसन्धानपत्र लेख्ने मात्र नभई कपाल मिलाउने तरिका समेत सिकाउन सक्ने गरी आफ्नो क्षमता विकसित गरिसकेका छन्। उनीहरूले अब विभिन्न भूमिकामा मानिसहरूलाई नै विस्थापित गर्ने छन् भनी अनुमान गर्नु नौलो हुने छैन।

तर आध्यात्मिक तथा धार्मिक परामर्श अनि उपदेश र भजनकीर्तन लेखनजस्ता काममा पनि ती अघि बढे भने के होला ? पत्रकारलाई भर्खरैको घटनामा समाचार लेख्न र प्रोग्र्यामरहरूलाई कोडिङमा सहयोग गरे जस्तै एआईले छिट्टै धर्मगुरुहरूलाई पनि सहयोग गर्न सक्नेमा विज्ञहरू विश्वस्त छन्।

“अहिले नै कसैले पवित्र धर्मशास्त्रबाट कुनै मार्गदर्शन खोज्यो भने आफूले चाहेको उत्तर ग्रन्थको पानामा उपलब्ध भए पनि त्यो भेट्टाउन सहज हुँदैन,” क्यानडास्थित यूनिभर्सिटी अफ म्यान्टोबाका प्राध्यापक नील म्याक्आर्थर भन्छन्। “तर एआईले 'म सम्बन्धविच्छेद गरूँ?' वा 'मैले कसरी सन्तान हुर्काउनुपर्छ?' जस्ता कुनै विशेष प्रश्नमा तत्कालै प्रतिक्रिया दिन सक्छ।”

रुमेनिआका धर्मशास्त्री मारिज दोरबान्तुले परम्परागत मनोपरामर्शदाता वा धार्मिक व्यक्तिहरूको सट्टा एआईबाट सञ्चालित च्याटबटहरूमा धार्मिक सान्त्वना खोजिरहेका केही मानिसहरूबारे खोज गरेका थिए।

यूनिभर्सिटी अफ एम्स्टर्ड्यामका अनुसन्धाता समेत रहेका दोरबान्तुले आफ्नो खोजका क्रममा आफ्नो दैनिक आध्यात्मिक मार्गदर्शनका लागि च्याटजीपीटीजस्ता माध्यमहरूको प्रयोग गर्नेहरूको सङ्ख्या बढिरहेको पत्ता लगाएका छन्।



“हामीसँग वस्तुलाई पनि मानव विशेषतासँग दाँज्ने प्रवृत्ति छ। हामी कारको नाम राख्नेदेखि बादलमा मानिसको जस्तो आकृति देख्नेसम्मलाई यसको उदाहरणका रूपमा लिन सक्छौँ,” दोरबान्तु भन्छन्।

“मानव विशेषता पहिचान गर्ने हाम्रो इच्छा उत्कर्षमा पुगेको छ र हामी अस्तित्वमै नभएका कुराहरूलाई पनि महसुस गर्छौँ। च्याटबटमा भएका हालैका प्रगतिहरूले मानिसहरूमा अन्तर्निहित यो पूर्वाग्रहबाट ठूलो लाभ उठाएको छ,” उनले भने।

दोरबान्तु यस्ता परिदृश्यहरूले खडा गर्ने प्रश्नहरू मशीन र मानवबीचको आध्यात्मिक सम्बन्धभन्दा बाहिर र यस्ता सम्बन्धबाट उत्पन्न हुने नैतिक दोधारहरूसम्म पुग्ने बताउँछन्।

“उदाहरणका लागि, यदि कसैले च्याटबटसँग परामर्श लिएर आत्महत्या गर्‍यो भने त्यसमा कसलाई जबाफदेह बनाउने?” उनको प्रश्न छ।

पछिल्ला केही महिनाहरूमा धार्मिक परामर्श दिने एआई च्याटबटहरू बनेका छन्। यीमध्ये केही साधनहरूले हिन्दू धर्मावलम्बीहरूको पवित्र धर्मग्रन्थ भगवद्गीतामा भएका शब्दहरू प्रयोग गरेका छन्।

यस्ता प्रोग्र्यामहरू दशौँ लाखले प्रयोग गरिसकेका छन्। तर यस्ता साधनहरूले हिंसालाई प्रोत्साहन गरेको विवरण पनि आएका छन्।

अङ्ग्रेजीमा रहेका ४०,००० वटा भन्दा बढी इस्लामिक धार्मिक स्रोतबारे तालिम दिइएको एआई च्याटबट 'हदिशजीपीटी' यसै वर्षको सुरुतिर सार्वजनिक गरिएको थियो। तर धार्मिक “समुदायको प्रतिक्रियापछि” यसलाई बन्द गरिएको यसका डिभेलपरले बताएका छन्।

गत वर्षको ज्यानुअरीमा इस्लाम र यहुदी धर्मका प्रतिनिधिहरू भेला भएर एआईको नैतिकताबारे एउटा घोषणापत्रमा हस्ताक्षर गरे।

प्रविधिलाई पारदर्शी र समावेशी हुन आग्रह गर्दै रोमन क्याथलिक चर्चले सन् २०२० मा 'रोम कल फर एआई एथिक्स' नामक यस घोषणापत्र बनाउन सुरु गरेको थियो।

पोप फ्रान्सिसले आर्टिफिशल इन्टेलिजन्सको क्षेत्रमा अगाडि आउन सक्ने ठूला चुनौतीहरूबारे बोलेकै सन्दर्भमा कैयौँ सरकार र प्रविधि कम्पनीहरूले यस अभियानको समर्थन गरेका थिए।

प्राध्यापक म्याक्आर्थरले हालै प्रकाशित ‘नयाँ स्वरूपको धर्ममा एआई उपासना’ अर्थ लाग्ने आफ्नो खोज प्रतिवेदनमा नयाँ स्वरूपको उपासना वा आर्टिफिशल इन्टेलिजन्सले सिर्जना गरेका ग्रन्थहरूको पूजा गर्ने सम्प्रदायहरूको उत्पत्तिको सम्भाव्यताबारे अन्वेषण गरेका छन्।

अध्ययनको क्रममा उनी आफैँले पनि च्याटजीपीटीलाई धार्मिक प्रश्नहरू सोधेका थिए। “मैले धर्मग्रन्थ लेख्न लगाउँदा त्यसले ‘मैले त्यो गर्न सक्दिनँ’ भन्यो,” म्याक्आर्थर सम्झन्छन्।

“तर मैले उसलाई नयाँ धर्म आरम्भ गर्न लागेका धर्मगुरुबारे एउटा नाटक लेख्न भन्दा त्यसले सहजै एक नेतृत्वकर्ताले माया र शान्तिबारे आफ्नो दर्शन समावेश गरेको कथा तयार गरिदियो। त्यो मलाई निकै प्रभावशाली लाग्यो,” उनले भने।

धर्मशास्त्री मारिज दोरबान्तु आर्टिफिशल इन्टेलिजेन्ससँग पनि मानिसहरूले उपासना गर्न चाहेकै विशेषता रहेको बताउँछन्।

“धर्मको इतिहास हेर्ने हो भने मानिसहरूले अरू कुराको पूजा गर्न नै मन पराएको देखिन्छ,” दोरबान्तु भन्छन्।

“इसाई बाइबलकै पहिलो भाग (ओल्ड टेस्टामन्ट) पढ्यो भने मानिसहरू मूर्तिपूजक नै रहेको भावना तपाईँले पाउनुहुन्छ। हामी तीक्ष्ण देखिने गैरमानवका मूर्तिहरूको पूजा गर्न अग्रसर छौँ,” उनले भने।

दोरबान्तु मानिसको शाश्वत जीवन र मृत्युपछि सुरु हुने अर्को जीवनबारेका धार्मिक मान्यताहरू पनि समान रहेको बताउँछन्।

“एआई मानिसको शाश्वत जीवनबारे वाचाहरूले भरिएको छ…. यसले मानवशरीरको कमजोरीहरूबाट मुक्तिका उपायहरू पनि सुझाउँछ,” उनको तर्क छ।

एआईले निर्वाह गर्न सक्छ ईश्वरको विचित्र भूमिका


सातै दिन र चौबिसै घण्टा काम गर्न सक्ने, एकै पटक दशौँ लाख मानिसहरूसँग अन्तर्क्रिया गर्न सक्ने, मानिसको ज्ञानको क्षमताभन्दा कैयौँ धेरै जानकारी राख्ने र जुनसुकै समयमा उपलब्ध हुने भएका कारण पनि मानिसलाई एआई "अलौकिक" लाग्न सक्छ।

“सिद्धान्तत: एआई कुनै पनि मानवजातिभन्दा धेरै बुद्धिमान हुन सक्छ। सबै मानवजातिहरूको सामूहिक समझभन्दा पनि धेरै बुद्धिमान् हुन सक्छ,” दोरबान्तुले सन् २०२२मा आफ्नो प्रतिवेदनमा भनेका छन्।

दार्शनिक निक बोस्त्रमलाई उद्धृत गर्दै दोरबान्तुले एआईका भविष्यका स्वरूपहरूले एकैपटक 'ओरकल' (भविष्यवाणी गर्न सक्ने), 'जीनि' (चमत्कार गर्न सक्ने ) र 'सोभरिन' (शासन गर्ने) तीन किसिमको भूमिका निर्वाह गर्ने सक्ने उल्लेख गरेका छन्।

यी धर्मशास्त्री “एउटै मात्र ईश्वर हुन्छन् भन्ने परिकल्पना गरिएको धर्ममा ईश्वरको भूमिका” एआईले निर्वाह गर्न सक्ने बताउँछन्।

हामीले थाहा पाएका धर्महरू ग्रन्थमा आधारित छन्। तर यदि एआईले धेरै सङ्ख्यामा धर्मग्रन्थहरू सिर्जना गर्दा कुनै पनि एउटा धर्मग्रन्थ कसरी पवित्र हुन्छ?

के पवित्र हुने वा नहुने कुरा अन्ततः मानवले नै छान्नुपर्ने दोरबान्तु बताउँछन्।

“इतिहासमा निश्चित धर्मग्रन्थहरू कालजयी भएका छन् भने अरूले त्यो गर्न सकेका छैनन्,” उनले भने।

“एआईसँग धेरै कुरा उत्पादन गर्ने क्षमता छ, त्यसमध्ये केहीलाई हामी दैविक प्रेरणाको रूपमा पाउनेछौँ।”

प्राध्यापक म्याक्आर्थरले त्यसका लागि १५ औँ शताब्दीमा छापाखानाको आविष्कारसँगै धार्मिक ग्रन्थहरू समाजमा फैलिए जसरी ठूलो प्रभाव पार्ने गरी अब एआई आउनुपर्ने बताए।

“आर्टिफिशल इन्टेलिजन्सले हामीे थाहा पाउने गरी बुद्धिमत्ताको उच्चतम अवस्था प्रदर्शित नगरेसम्म निकट भविष्यमै यो विषयमा ठूलो परिवर्तन आउँछ भन्ने मलाई लाग्दैन,” उनले भने।

के एआईका कारण खतरनाक र कट्टरपन्थी धार्मिक सम्प्रदायको उदय हुन सक्छ?

प्राध्यापक म्याक्आर्थरका अनुसार धर्ममा जहिले पनि त्यस्तो जोखिम रहन्छ।

“कुनै पनि समय मानिसहरूसँग कठोर विश्वास पलाउन सक्छ। यसले त्यसमा असहमत हुनेहरूप्रति शत्रुता बढाउँछ,” उनको तर्क छ।

एआईको विषयमा त्यस्तो ठूलो र सानो दुवै किसिमको जोखिम हुन्छ।

"ठूलो जोखिम के हो भने मानिसहरू यो उच्चतम आत्माबाट प्रत्यक्ष सन्देश पाएको ठान्न सक्छन् र त्यो एउटा शाश्वत सत्य भएको तर्क गर्न सक्छन्।"

"यद्यपि एआई धर्महरू विकेन्द्रीकृत हुने भएकाले एउटा बलियो नेताको उदय हुने र अनुयायीहरू नियन्त्रण गर्ने सम्भावना सीमित हुन्छ," उनको निष्कर्ष छ। - बीबीसीकाे सहयाेगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics