११ दिनको फरकमा कपिलवस्तु क्षेत्रमा देखिए ३ पाटेबाघ

कपिलवस्तु – कपिलवस्तु क्षेत्रमा तीनवटा पाटेबाघ फेला परेपछि संरक्षणकर्मी उत्साही भएका छन् । यो क्षेत्रमा ११ दिनको फरकमा ३ वटा बाघ देखिएका हुन् । यसमा दुईवटा वयस्क भाले र एउटा लिंग पहिचान हुन नसेको बाघ छ ।

पुस १४ गते विजयनगर गाउँपालिकास्थित गोबरहवा वन क्षेत्रमा एउटा वयस्क पाटेबाघ क्यामरा ट्रयापमा पर्यो । पुस १९ गते विजयनगरमै अर्को वयस्क बाघ क्याप्चर भयो । तर, त्यो एउटै बाघ हो वा फरक हो डाटाहरु कम्प्युटर विश्लेषण गरी निधो गर्ने काम भइरहेको छ । अरु दुईवटा बाघ बुद्धभूमि नगरपालिकाको गब्दहवा आसपासको चुरे वनमा राखिएको क्यामरामा देखिएको क्यामरा ट्रयाप गर्ने प्राविधिक आशाराम चौधरीले जनाए ।

दाङ, अर्घाखाँची र कपिलवस्तुका घना वन र चुरे शृंखलामा क्यामरा लगाइएको थियो । सम्म फाँटदेखि पहाडका वनपथमा क्यामरा ट्रयापिङ गरिएको हो । डब्ल्यूडब्ल्यूएफ नेपालको सहयोगमा तराई भूपरिधि कार्यक्रम (ताल) बाँकेले तीन जिल्लामा १८१ वटा अत्याधुनिक स्वचालित क्यामरा राखेको क्यामरा ट्रयाप गर्ने अर्का प्राविधिक शैलेशकुमार यादवले भने ।

जिल्लामा एकैपटक तीनवटा बाघ साइटिङ भएपछि संरक्षणकर्मी र वन्यजन्तुप्रेमी उत्साही भएका छन् । संरक्षण क्षेत्र र निकुञ्जदेखि धेरै टाढा ठूलो संख्यामा बाघ देखिनु सम्भवतः नेपालमै पहिलो घटना भएको बाघ विशेषज्ञहरु बताउँछन् । यसले कपिलवस्तु बाघका लागि महत्त्वपूर्ण क्षेत्र रहेको हुनसक्ने देखाएको छ । यो घटनाक्रमसँगै धार्मिक पर्यटनका लागि चिनिएको कपिलवस्तु अब पर्यापर्यटनका लागि पनि लोकप्रिय हुने अपेक्षा गरिएको छ ।

तीन जिल्लाका ६ स्थानीय तहका चुरे वन क्षेत्रमा दुई बाई दुई किमि क्षेत्रको १८१ वटा स्याम्पलिङ ग्रिडको बीचमा ७२५ वर्गकिमि क्षेत्रमा क्यामरा ट्रयापिङ गरिएको थियो । हावा र तापमा हुने परिवर्तनसँगै क्यामरा सेन्सर सक्रिय भई तस्बिर दिने गरेको थियो ।

क्यामरा ट्रयापिङको नतिजाले वन्यजन्तुको अवस्था, वन व्यवस्थापन र संरक्षण नीति योजना बनाएर काम गर्न सहयोग पुग्ने बताइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics