बरफ तीव्ररूपमा पग्लन थालेपछि ध्रुवीय भालुहरू भोकमरीको जोखिममा

काठमाडाैं - उत्तरी ध्रुवमा रहेका भालुहरू भोकमरीको जोखिममा रहेका वैज्ञानिकहरूले बताएका छन् । जलवायु परिवर्तनका कारण आर्कटिक महासागरको बरफ तीव्ररूपमा पग्लन थालेपछि ध्रुवीय भालुहरू भोकमरीको जोखिममा रहेका वैज्ञानिकहरूले बताएका बीबीसीले जनाएको छ । लम्बिँदै गएको गर्मी र घट्दो समुद्री बरफका कारण उनीहरूको जीवन कष्टकर बन्दै गएको खबरमा उल्लेख छ ।


यो क्षेत्रमा रहने भालुहरूको मुख्य आहारा सील हो । सील आर्कटिक सागरमा पाइन्छ र जाडोको समयमा सतहमा आउने गर्छ । समुद्रको सतहमा जमेको बरफको सहायतामा भालुहरू आहाराका लागि सीलसम्म पुग्ने गर्थे । तर गर्मीका कारण बरफ घट्दै गएपछि भालुहरू भोकमरीको जोखिममा परेका खबरमा उल्लेख छ । जमिनमा धेरै समय रहँदा यिनीहरूको चाँडै तौल घट्ने र यसले मृत्युको जोखिम बढाउने खबरमा उल्लेख छ । भालुहरूको तौल औसतमा हरेक दिन एक किलोका दरले घटिरहेको छ ।



जलवायु परिवर्तनका कारण विश्वभर रहेका झन्डै २६ हजार ध्रुवीय भालु खतरामा रहेका छन् । ध्रुवीय भालुको धेरै सङ्ख्या क्यानडामा छ, केही सङ्ख्यामा अमेरिका, रुस, ग्रीनल्यान्ड र नर्वेमा पनि पाइन्छ ।


वैज्ञानिकहरूले क्यानडाको हड्सन खाडीमा २० वटा ध्रुवीय भालुमाथि अनुसन्धान गरेका थिए । अनुसन्धानका क्रममा वैज्ञानिकहरूले यिनीहरू आहाराको खोजीमा भौतारिरहेका पाएका थिए । यो अनुसन्धान ‘नेचर कम्युनिकेशन्स’ पत्रिकामा प्रकाशित छ । वैज्ञानिकहरूले भालुमाथि क्यामेरासहित जीपीएस कलर जडान गरेर तीन वर्षसम्म निगरानी गरेका थिए ।


वैज्ञानिकहरूले अध्ययनका क्रममा २० मध्ये दुई वटा भालुले ऊर्जा बचाउनका लागि गतिविधि नै कम गरेको पाएका थिए । यिनीहरूले घाँसदेखि लिएर चराचुरुङ्गी र साना समुद्री जीवसम्म खाएका वैज्ञानिकहरूले बताएका छन् । तीन वटा भालुले आहाराका लागि लामो समुद्री यात्रा गरेका थिए । एउटा भालु त एक सय ७५ किलोमिटर परसम्म पुगेको थियो । वैज्ञानिकहरूका अनुसार यी भालुले आवश्यकताअनुसार आहारा पाउन सकेका छैनन् ।


जलवायु परिवर्तनका कारण विश्वभर रहेका झन्डै २६ हजार ध्रुवीय भालु खतरामा रहेका छन् । ध्रुवीय भालुको धेरै सङ्ख्या क्यानडामा छ, केही सङ्ख्यामा अमेरिका, रुस, ग्रीनल्यान्ड र नर्वेमा पनि पाइन्छ ।


इन्टरनेशनल युनियन फर कन्जर्भेसन अफ नेचर (आईयूसीएन) ले ध्रुवीय भालुलाई लोप हुने जोखिममा सूचीकृत गरेको छ जसमा जलवायु परिवर्तन यिनीहरूको गिरावटको प्रमुख कारक मानिएको छ ।


वयस्क भाले झन्डै तीन मिटर लामो र झन्डै छ सय किलो तौलको हुन सक्छ । ध्रुवीय भालुले एकै पटक ४५ किलोसम्म समुद्री स्तनधारी जनावरहरूको बोसो खान सक्छ । यी भालुहरूले १६ किलोमिटर टाढासम्मको सिकार सुँघेर थाहा पाउन सक्छन् ।


पोलर बियर्स इन्टरनेशनलका मुख्य वैज्ञानिक जोन ह्वाइटमेन ध्रुवीय भालुलाई जोगाउनका लागि बरफ पग्लिनबाट जोगाउनुको विकल्प नरहेको बताउँछन् । - एजेन्सीकाे सहयाेगमा


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics