संकटको सालक पुस्तकमा आयो

काठमाडौं – डिभिजन वन कार्यालय, धादिङका डिभिजनल वन अधिकृत विष्णु प्रसाद आचार्यद्धारा लेखन, संकलन र सम्पादन गरिएको पुस्तक ‘हाम्रो सालक, प्यारो सालक’ सार्वजनिक भएको छ ।

प्रकृतिको साथीका रूपमा परिचित सालक आज विश्वव्यापी रूपमा नै क्रमशः संकटमा परिरहेका बेला यसको महत्व बुझाउन उक्त पुस्तक लेखिएको लेखक आचार्य बताउँछन् । ४३ पृष्ठ रहेको उक्त पुस्तकमा संरक्षण क्षेत्रमा काम गर्ने विभिन्न व्यक्ति, लेखक र विज्ञले सालकका विषयमा लेख, कथा, कविता आदि लेखेका छन् ।

डा. लुल्सीलक्ष्मी सुवाल, कुमार पौडेल र संजन थापाको लेखन सहयोगमा डिभिजन वन कार्यालय, धादिङले प्रकाशन गरेको उक्त पुस्तक शैक्षिक प्रयोजन, सालक संरक्षण र प्रवद्र्धनका लागि स्रोत सामग्रीका रूपमाा प्रयोग गर्न सकिने आचार्यको भनाई छ ।

कानुनी हिसाबले नेपालमा यो संरक्षित वन्यजन्तुको सूचिमा रहे तापनि यसको लागि जति मेहनत र लगानी गर्नु पथ्र्यो त्यो हुन नसकेको लेखेक बताउँछन् । यी लजालु, भुईं जनावर चोरी शिकारी, वन डढेलो, वासस्थानको विनाश, हाम्रो अन्धविश्वास र चेतनाको अभावमा नासिंदै गएका र अब पनि हामीले यसलाई बेलैमा संरक्षण अभियान संचालन नगर्ने हो भने यो जनावर अब इतिहासमा नै सिमित हुनेछन् ।

संसारमा पाइने ९ प्रजातिका सालकमध्ये नेपालमा २ प्रजातिका तामे सालक र कालो सालक पाइन्छन् भने पछिल्लो अध्ययनले देशका ६० भन्दा बढी जिल्लाहरूमा यसको उपस्थिति पाइएको छ ।

यिनको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले देशका विभिन्न जिल्लामा विविध कार्यक्रम संचालन भएका छन् । यस्तै विविध संरक्षणका कार्यक्रम संचालन गर्ने क्रममा यो पुस्तिका निकालिएको प्रकाशकको भनाई छ ।

यो पुस्तिका २ खण्डमा विभाजित छ, पहिलो खण्डमा सालकको परिचय र दोस्रो खण्डमा सालक सम्बन्धी विभिन्न चेतनामूलक कथा, कविता, गीत, गजल र मुक्तक छन् । लेखक आचार्य भन्छन्, ‘यी सामग्रीले सालक सम्बन्धी चेतना जगाउन र संरक्षणमा सानो सहयोग पुग्यो भने पनि हामी अत्यन्त खुशी हुनेछौं र हाम्रो यो कार्य सार्थक भएको हामीले महसुस गर्नेछौं । यो पुस्तिकाको मुख्य लक्षित वर्गमा विद्यालयका नानीबाबु र सामुदायिक वनका उपभोक्ता र संरक्षणमा लागेका अभियन्ता हुन् ।’

बागमती प्रदेश सरकारले यसको संरक्षणमा सरकारको नीति तथा कार्यक्रममा सम्बोधन गरेर छुट्टै बजेट विनियोजन नै गरेको छ । बागमती प्रदेश स्तरीय दोस्रो खेलकुद महोत्सवमा प्रतिक चिन्ह सालक राखिनुले सरकारले बिशेष चासो देखाएको लेखकले महसुस गरेका छन् । सालक बागमती प्रदेशका १३ वटा जिल्लामा नै पाइने विज्ञ बताउँछन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics