सेनाले बनायो ‘पन्छी बास बगैंचा’

तस्बिर सौजन्य : नेपाली सेना

सुनसरी – नेपाली सेनाले इटहरीमा स्थानीय रैथाने र फिरन्ते प्रजातिका चराचुरुङ्गीको संरक्षणमा लागि पन्छी बास बगैंचा बनाइएको छ । यो प्रधान सेनापति प्रभुराम शर्माले औपचारिक उद्घाटन गरेपछि सञ्चालनमा आएको छ ।

सेनाको ब्यारेक क्षेत्रमा रहेको घना रुखबिरुवा तथा त्यहाँ रहेका करिब एक दर्जन पोखरी र सिमसार क्षेत्रमा बसोबास गर्ने रैथाने तथा साइबेरियालगायतका विभिन्न स्थानबाट आउने फिरन्ते चराचुरुङ्गीको संरक्षण गर्ने उद्देश्यले यो बगैँचा सञ्चालन गरिएको हो ।

उक्त बगैंचा सेनाको पूर्वी पृतना मुख्यालयको हाताभित्र रहेको छ । यो पन्छी बास बगैँचा नेपालमा पहिलो रहेको सेनाका पूर्वी पृतनापति उपरथी डा. आसबहादुर तामाङको भनाइ छ ।

सिमसार तथा पोखरीसहित विभिन्न प्रजातिका बोटबिरुवा लगाइएको पूर्वी पृतना परिसरमा रहेको बगैँचा क्षेत्रमा फिरन्ते चरा आउने गरेको तथ्यलाई दृष्टिगत गर्दै पन्छी बास बगैँचा सञ्चालनमा ल्याइएको पृतनापति तामाङले बताए ।



ब्यारेक क्षेत्रमा चराचुरुङ्गीको घनत्व धेरै रहेको र सो क्षेत्रमा करिब ५० प्रजातिका चरा रहेकाले वातावरण जोगाउनका साथै चरा संरक्षणका लागि पन्छी बास बगैँचा बनाइएको पृतनापति तामाङले जानकारी दिए ।

पृतनापति तामाङका अनुसार इटहरी ब्यारेक क्षेत्रमा रहेका पन्छी बास बगैँचामा बर्सेनि साइबेरियालगायतको स्थानबाट करिब १५ प्रजातिका मौसम अनुसारका फिरन्ते चरा आउने गरेको र स्थायी रूपमा पनि करिब ३० प्रजातिका रैथाने चराको बसोबास रहँदै आएको छ ।

खास गरी पूर्वी नेपालमा जाडो महिनामा साइबेरियादेखि चरा जाडो छल्न र बच्चा कोरल्न आउने गरे झैँ यहाँको बगैँचामा पनि आउने आगुन्तक चराले वातावरणलाई नै आनन्दित बनाउने गरेका छन् ।



 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics