विशाल प्राणी भालुको मुसाजत्रो बच्चा ?

काठमाडौं – एउटा उमेर पुगेको भालुको भरखरै जन्मेको बच्चा कत्रो हुन्छ ? हामी अनुमान लगाउन सक्छौ – बाख्रा, भेडा, कुकुर वा गाईको बाछो जत्रो । किनकी घरपालुवा जनावरहरूको जन्मेको बच्चा हामीले देखिरहेका हुन्छौं । त्यसैले भालुको बच्चा पनि गाईको बच्चा जस्तै कम्तिमा २०–२५ किलोग्राम तौल भएको त अवश्य नै हुनपर्छ भन्ने हाम्रो अनुमान रहन्छ ।

तर कसैले भालुको बच्चा ‘एउटा ठूलो खालको मूसाजत्रो मात्रै हुन्छ’ भन्ने जवाफ दियो भने चाहिँ तपाईं के गर्नुहुन्छ ? यो उत्तर सुन्दा तपाईँलाई अचम्म लाग्नसक्छ तर, यो यथार्थ हो । वास्तवमै १०० किलोग्रामदेखि ७०० किलोग्रामसम्म तौल हुने एउटा विशाल प्राणी भालुको बच्चा एउटा ठूलो खाले मूसा जत्रो मात्रै हुन्छ । अर्थात्, भरखरै जन्मेको भालुको बच्चाको तौल ३०० ग्रामदेखि लगभग आधा किलोसम्म मात्र हुन्छ ।

सामान्यतः एउटा बाख्रा वा भेडाको पाठाको तौल मात्रै पनि यो तौल भन्दा दश गुना भारी हुन्छ । तुलना गर्ने हो भने अन्य जनावरहरूको नवजात बच्चाको तौल आमाको तौलको १० प्रतिशत हाराहारी हुन्छ भने भालुको नवजात बच्चाको तौल ०.२७ प्रतिशत मात्र हुन्छ । फेरि आफ्नो जीवनको शुरुका १० दिनमा बाख्राको पाठाको तौलमा १८० ग्राम बृद्धि हुन्छ भने भालुको बच्चाकोतौलमा २.५ ग्राम मात्र बृद्धि हुन्छ ।



प्रकृतिको यो लीलाको पछाडि पनि एउटा रहस्य लुकेको छ । र, यो रहस्य बुझ्न भालुको जीवन चक्रलाई हेर्नुपर्ने हुन्छ । भालुले जाडो महिना अर्थात पुष माघतिर बच्चा जन्माउँछ । भालुको गर्भकाल ६ देखि ९ महिनासम्मको हुन्छ र त्यो समय पूरा भएपछि यसले एउटादेखि चारवटासम्म बच्चा जन्माउँछ ।

भालुले जाडो मौसममा बच्चा जन्माएपछि वसन्त ऋतु (चैत–वैशाख महिनासम्म) गुफामा बसेरै आफ्ना बालबच्चाहरूको पालन–पोषण गर्दछ । शरद ऋतु (असोज–कार्तिक महिनातिर ) चाहिँ यसले आफ्नो शरीरमा संग्रहित बोसो र अन्य पौष्टिक पदार्थहरूको भरमा जीवन निर्वाह गर्दछ ।

जाडो मौसम लागेपछि चाहिँ भालुको शरीरमा संग्रहित त्यो पौष्टिक पदार्थको भण्डारमा अलिकति पनि क्षति हुँदैन, किनभने त्यस समयमा भालु गहिरो शीत –निद्रामा गएको हुन्छ र त्यसबेला यसले पानीसमेत पिउँदैन ।

भालु शीत–निद्रामा जानु भनेको के हो भने, त्यस समयावधिभरि भालु गहिरो रूपमा निदाउँछ । यसरी निदाएको बेला यसले खानापिना, मलमुत्र त्याग केही पनि गर्दैन । कतिसम्म भने, यस अवस्थामा भालुको शरीरको तापक्रम पहिलेको जस्तै नै रहन्छ तर यसको मुटुको धड्कन प्रतिमिनेट ४५ बाट झरेर १० मा आउँछ । भालुको यो शीत– निद्रा ३ महिनादेखि ५ महिनासम्म चल्नसक्छ । न्यानो मौसम भएको बेलामा चाहिँ कहिलेकाहीँ केही समयको लागि भालु शीत–निद्राबाट जागेर बाहिर निस्कन पनि सक्छ ।

यसरी जाडो मौसममा भालु शीत–निद्रामा जानुको कारण के हो भने त्यस मौसममा प्रचण्ड जाडोका कारण बाहिर प्रकृतिमा खानेकुराहरूको व्यापक अभाव हुन्छ । अझ, धु्रवीय क्षेत्रहरूमा बस्ने भालुहरूको लागि त झनै ठूलो अभाव हुन्छ । त्यस अवस्थामा उनीहरूले आफ्नो जीवननिर्वाह गर्ने खानेकुराहरू केही पनि पाउँदैनन् । त्यस्तो अवस्थामा उनीहरूको शरीरको उर्जाको खपतलाई रोक्न र बचाइराख्नको लागि प्रकृतिले नै यस्तो व्यवस्था मिलाएको हो ।

यसरी एकातिर जाडो मौसममा खानेकुरा नपाइने हुन्छ तर त्यही मौसममा भालुले बच्चा जन्माउँछ ! र त्यसरी जन्मेको बच्चा चाहिँ आमा–भालुको दूधको भरमा मात्रै बाँच्नु पर्नेहुन्छ । त्यस अवस्थामा भालुले बच्चालाई स्तनपान गराउँदा आफ्नो शरीरमा संग्रहित पौष्टिक पदार्थहरू र बोसोको उपयोग गरिरहेको हुन्छ ।



यस्तो स्थितिमा भालुको बच्चा भेंडा वा बाख्राको पाठोजस्तो ठुलो जन्मने हो भने त त्यसले केही दिनमा नै आमा–भालुको शरीरमा संग्रहित समपूर्ण पौष्टिक पदार्थहरू खपत गरिसक्ने थियो । किनभने, बाख्राको पाठा जत्रो ३–४ वटा भालुका बच्चाहरूको लागि त दिनको आधा बाल्टीभन्दा बढी दूधको आवश्यकता पर्ने थियो र केही दिनमा नै पोथी भालुको दूध सुक्ने थियो ।

तर प्रकृतिको नियम नै के छ भने, यस संसारमा पाइने प्रत्येक प्राणीहरूले आफुलाई परिस्थिति अनुकूल ढालेर बाँच्न जानिसकेका हुन्छन् । प्रसिद्ध जीव वैज्ञानिक डार्विनको ‘अनुकूलताको सिद्धान्त’ अनुसार पनि जुन प्राणीले प्रकृतिको अनुकूलतामा आफूलाई ढाल्नु सक्दैन, त्यो प्राणी मासिएर जान्छ ।

यही प्रकृतिको अनुकूलताको नियमले गर्दा नै भालुको बच्चा जन्मिँदा अतयन्तै सानो जन्मन पुगेको हुन्छ ।

त्यती मात्र हैन, यो बच्चाको शारीरिक बृद्धिदर पनि बसन्त ऋतुसम्म अत्यन्तै सुस्त गतिमा हुन्छ । तर जब पोथी भालु शीत–निद्राबाट उठेर खानेकुराको खोजीमा गुफाबाट बाहिर निस्कन्छ, भालुको बच्चा पनि आफ्नो आमासँगै खानेकुराको खोजीमा र घाम ताप्नको लागि गुफाबाट बाहिर आउन थाल्छ । यस अवस्थामा बच्चा भालुहरूले विभिन्न किसिमका खानेकुराहरू धेरै मात्रामा भकुर्न थाल्छन् । उनीहरू खान लायकका कुनै पनि कुराहरू बाँकी राख्दैनन् ।



अब आएर चाहिँ उनीहरूको शारीरिक बृद्धिदरमा तीब्रता आउन थाल्छ । अब आएर उनीहरू आमाको दूधमा हैन, बाहिरी खानेकुराको आधारमा बाँच्न सिक्न थाल्छन् ।

उता भेडा वा बाख्राको पाठो भने भालुको तुलनामा जन्मँदै अलि ठुलो हुन्छ । किनभन। भेडा वा बाख्राले बाह्रै महिना खानेकुराहरू खान पाउँछन् । जीवनको शुरुकालमा भेडा वा बाख्राको पाठो आमाको दूध खाएरै हुर्कन्छ । फेरि भालुको तुलनामा अति छोटो समयमा नै पाठोले घाँस खान सिकिसक्छ । त्यसैले पाठो आफ्नो जीवनको प्रारम्भिक कालमै अति छिटो छिटो बढ्छ । – एजेन्सीको सहयोगमा

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics