२४ करोड वर्ष पुरानो ‘ड्रागन’को जीवाश्म फेला परेपछि…
- नेचर खबर
स्कटल्यान्ड - वैज्ञानिकहरूले पहिलो पटक ड्रागनको पूरा जीवाश्म फेला पारेका छन् । यो जीवाश्म २४ करोड वर्ष अगाडिको हो ।
चीनमा ट्रियासिक युगको ड्रागनको जीवाश्म भेटिएको नेशनल म्युजियम स्कटल्यान्डले शुक्रबार बताएको छ । यो जीवाश्म करिब पाँच मिटर लामो छ । यो जीवाश्म सन् २००३ मै भेटिएको हो ।
तर कयौँ वर्षसम्म पाँच नयाँ प्रजातिको अध्ययन गरेपछि वैज्ञानिकहरूले पूरै प्राणी के हो भनेर ठम्याउन सके । यो जीवाश्ममा नाकदेखि पुच्छरसम्म ड्रागनको पूरै हिस्सा छ ।
जीवाश्म अंक आठ (एट) बनाएर बसेको छ । यो हेर्दाखेरि चिनियाँ ड्रागन जस्तै देखिने सङ्ग्रहालयका संरक्षक डा. निक फ्रेजरले बताएका छन् ।
यो जीवाश्मबारे अध्ययन गरेर स्कटल्यान्ड, जर्मनी र अमेरिकी अनुसन्धाताहरूको एउटा टोलीले फेला परेका तथ्यहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित गरेका थिए ।
यो जीवको घाँटीमा ३२ ओटा भर्टिब्रा पाइएको छ । यति लामो घाँटीको सहायताले यो जीवले माछा पनि समात्न सक्थ्यो कि ? तर वैज्ञानिकहरू यति लामो घाँटीको काम ठ्याक्कै के थियो भन्नेमा अलमल छन् ।
यो जीवाश्मको पेटमा माछा पनि पाइएको थियो । यो जीवले समुद्री सरीसर्प टानिस्ट्रोफेयसको झल्को दिएको वैज्ञानिकहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस