कम चिसो र कम पानीमै सकियो हिउँद, प्रिमनसुन सुरु

काठमाडौं – काठमाडौं उपत्यकामा आइतबार विहानैबाट पानी पर्यो । दिउँसो मेघगर्जनसहित केही वर्षा भयो भने देशका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात पनि भएको छ । यसले हिउँद सकिएर प्रिमनसुनको अवधि सुरुवातको संकेत गरेको जलवायु विज्ञ बताउँछन् ।

नेपालमा आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको छ । हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रिमनसुन अवधि सुरु भएपछिको आइतबारको यो पहिलो मौसम बदली हो ।

मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए ।

सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताए । यो क्रम आइतबार रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिए । आइतबार राति पश्चिमी भू–भागमा बढी बदली हुने उनको भनाइ छ ।

गत मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो । हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics