बाघ नभए के हुन्छ ?

काठमाडौं – पछिल्लो समय नेपालमा मात्रै होइन विश्वमा नै बाघ जोगाउन मुस्किल परिरहेको छ । अधिकांश मुलुकमा मानव–वन्यजन्तु द्धन्द्धका कारण बाघ मारिएका छन् । केही मुलुकमा तस्करको कब्जामा पर्दा पनि बाघको संख्या घट्दो क्रममा छ । त्यसैले नेपालसहितका मुलुकले बाघको संख्या बढाउन लक्ष नै राखेर संरक्षणको काम गरिरहेका छन् ।

बाघले मानव र घरपालुवा जनावरलाई आक्रमण गर्न थालेपछि धेरैको प्रश्न हुन्छ – आखिर हामीलाई बाघ किन चाहिन्छ ? वा बाघ नभए के हुन्छ ? किन यसलाई संरक्षण गर्ने र संख्या बढाउने ? यस्ता प्रश्नको उत्तर समयमा बुझाउन नसक्दा र जनचेतना नहुँदा नै हो बाघ र मानव बिच द्धन्द्ध निम्तने र बाघ मारिने । आउनुहोस् आज बाघ हामीलाई किन चाहिन्छ बुझौं ।

बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यो त छँदै छ, हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ ।

खाद्य श्रृंखलामा बाघ मुख्य शिकारी जनावर भएका कारणले शाकाहारी जनावरलाई नियन्त्रणमा राखी वातावरण संतुलनमा यसको उल्लेखनीय योगदान हुन्छ । वातावरणीय सन्तुलन जंगली जनावरको लागि मात्र नभएर स्थानीयदेखि विश्वभरका मानिसहरूका लागि पनि उत्तिकै महत्वपूर्ण हुने हुन्छ ।

विद्यार्थी जीवनमा विज्ञानको किताबमा घाँस, बाख्रा, बाघ र माटो-मलको चक्र आकारमा रहेको चित्रलाई विज्ञान पढाउने शिक्षकशिक्षिकाले यी जीवहरूको एक आपसको सम्बन्धबारे बताएका पनि थिए । तर, कमैले बुझे होलान् ।

बाघलाई वातावरणीय सन्तुलनलाई कायम राख्न मात्र होइन, अन्य पशुपन्छीहरूलाई सहारा प्रदान गर्न सक्ने प्राणीको रूपमा पनि वनस्पति तथा पशुपन्छी विज्ञहरू लिन्छन् । यसलाई अंग्रेजीमा ‘अम्ब्रेला स्पेसिज’ भनेर पनि भनिन्छ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकाले ठूलै जंगल संरक्षित गरिनपर्छ । यो त अझै खुसीको कुरा हो ।

यसरी जंगलको संरक्षण गर्दा अन्य पशुपन्छीहरूले पनि बासस्थान पाउने भएकाले बाघलाई महत्वपूर्ण प्रजातिको रूपमा विश्लेषण गरिन्छ । बाघलाई संरक्षण गर्दा हामीले वनजंगलको पनि संरक्षण गरिरहेका हुन्छौँ ।

बाघ संरक्षणका प्रयास यसअघि नभएका पनि होइनन् । सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू गरिएका भए पनि बाघको संख्या दिनहुँ दिन कम हुँदै गइरहेको थियो । बाघ पाइने मुलुकहरू एकै ठाउँमा भेला भइ संयुक्त प्रयास गर्दा महत्वकाँक्षी लक्ष्य पनि पूरा गर्न सकिने हुँदा यी १३ मुलुकको एकतालाई उदाहरणीय मानिएको छ । ग्लोबल वार्मिङको चपेटामा परिरहेको विश्वलाई यसको सफलताले राहत प्रदान गर्नेछ । केही सफलताको बाटो पछ्याउन सुरु गरिसकेकाले पनि हाम्रो भविष्य उज्जवल छ भने आशावादी हुने ठाउँहरू प्रशस्तै छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics