कोशीका सामुदायिक वनमा पक्की संरचना बनाउन रोक

झापा – कोशी प्रदेशका वन क्षेत्रभित्र पक्की भौतिक संरचना निर्माण गर्न प्रदेश सरकारले रोक लगाएको छ । प्रदेशका वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले वन परिसरभित्र भौतिक संरचना नबनाउन निर्देशन दिएको बताए ।

झापा जिल्लामा सामुदायिक वन परिसरभित्र पर्यटक आकर्षण गर्न धमाधम रूपमा भौतिक संरचना बनाउने प्रतिस्पर्धा भइरहेकाले यस्तो क्रम रोक्न समग्रतामा नै निर्देशन दिएको उनको भनाई छ । पर्यापर्यटन विकास गरेको नाममा सामुदायिक वनहरूले पक्की संरचना बनाउने कार्य नरोके कारबाही गरिने उनले चेतावनी पनि दिएका छन् ।

मेचीनगर नगरपालिकाको हातेमालो सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत निचाझोडा सिमसार पर्यापर्यटन क्षेत्रको अवलोकन गर्न आइतबार उनी झापा नै पुगेका थिए । झापाको विभिन्न स्थानको अवलोकन गर्दा सामुदायिक वन भित्र विभिन्न वहानामा भौतिक संरचना निर्माण गर्ने गरेको पाइएकाले यस्तो निर्देशन दिएको उनी बताउँछन् ।

उनले सामुदायिक वन क्षेत्रलाई प्राकृतिक रूपमा नै विकास गरिनुपर्ने भन्दै संरचना बनाएर वन क्षेत्रलाई प्रभावित पार्ने काम नगर्न सबैलाई आग्रह पनि गरे । ‘यहाँ रहेका वन्यजन्तु र चराचुरुङ्गीलाई समेत असर पर्ने गरी र प्राकृतिक सुन्दरतालाई ओझेलमा पार्ने गरी कतिपय क्षेत्रमा पक्की संरचना बनिरहेको प्रति मेरो ध्यानकर्षण भएको छ,’ उनले भने, ‘यस विषयमा डिभिजन वन कार्यालय सम्बन्धित निकायलाई समेत स्पष्ट रूपमा निर्देशन दिइसकेको छु ।’

सामुदायिक वनलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने र यसका लागि प्रदेश सरकार सकारात्मक रहेको भन्दै यही वनभित्रकै काठको प्रयोग गर्न सकिने उनले बताए । ‘मापदण्ड अनुसार कटान भएका काठको प्रयोग गरेर झनै राम्रो पर्यटकीय गन्तव्य बनाउन सकिन्छ,’ उनले भने ।

पक्की संरचना बनाउने कार्य निरुत्साहित गर्नका लागि आफूहरूले प्राकृतिक रूपमा नै बनाइने पर्यटकीय क्षेत्रलाई प्राथमिकता दिनेसमेत उनले बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics