उद्धार केन्द्रमा ५ बाघ, मासु खुवाउनै हम्मे हम्मे

Photo : वीङ एआई

बाँके – बर्दिया राष्ट्रिय निकुञ्जमा मात्रै अहिले ५ वटा बाघलाई उद्धार केन्द्रमा राखी रेखदेख गर्दै आएको छ । विभिन्न कारणले घाइते तथा अन्य समस्यामा परेकालाई निकुञ्जले उद्धार गरी केन्द्रमा राख्छ । तर, राखिएका बाघलाई अहिले मासु खुवाउनै हम्मे हम्मे परेको छ । आहारा पुरा गर्न समस्या छ ।

पछिल्लो समय बर्दियामा पाटेबाघ बढ्दै जाँदा समस्याग्रस्त बाघहरू फेला पर्न क्रम बढ्न थालेका छन् । एउटा बाघलाई एक दिनको फरकमा सात किलो मासु आहारा दिने गरिन्छ । पाँच वटा बाघलाई हरेक साता एक सय चालिस किलो मासु आहारा आवश्यक पर्ने गरेको छ ।

वार्षिक आहारा खुवाउन ३० लाख देखि ३५ लाख रुपैयाँ सम्म खर्च लाग्ने निकुञ्जले जनाएको छ । बर्दियामा बाघको संख्या प्रतिवर्षको करिब दश प्रतिशतले समस्याग्रस्त बाघ भेटिने सम्भावना रहेको छ । समस्याग्रस्त बाघहरूलाई नियन्त्रणमा नलिएमा मानव वन्यजन्तु द्वन्दले झन विकराल रूप लिने निकुञ्जका अधिकारीहरू बताउँछन् ।



मार्ग र सामुदायिक वन क्षेत्रमा बाघको आक्रमणमा परि दर्जनौँ घाइते तथा मृत्यु समेत भएको छ । देशका विभिन्न स्थानमा गरि समस्याग्रस्त बाघ २० वटा रहेका छन् । उद्धार गरि समस्याग्रस्त बाघ राख्ने खालि ठाउँ नै छैन अब कहाँ राख्ने भनि सोच्नु पर्ने अवस्था आएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामको भनाई रहेको छ ।

समस्याग्रस्त बाघ लगायत अन्य वन्यजन्तु उद्धार गरि राखिएको ठाउँ सुरक्षित र व्यवस्थित नहुँदा अन्य जोखिमसमेत बढेको छ । राज्यले समस्याग्रस्त बाघको उचित व्यवस्थापनको लागि आवश्यक रकम बिनियोजन नगर्दा वन्यजन्तुसमेत पीडामा पर्ने गरेको संरक्षणकर्मी हेमन्त आचार्य बताउँछन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा वन्यजन्तुका कारण सर्वसाधारण मानिसहरू बर्सेनि जोखिममा परेका छन् । बर्दियामा ३० वर्षको अवधिमा जङ्गली वन्यजन्तुको आक्रमण बाट १ सय १ जनाको मानवीय क्षति भएको छ भने २ सय ८२ जना घाइते भएका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics