प्रकृति संरक्षण कोषका सदस्य–सचिव अधिकारीको नियुक्ति गैरकानुनी, कारबाहीका लागि निर्देशन

काठमाडौं – राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव शरदचन्द्र अधिकारीको नियुक्ति गैरकानुनी प्रक्रियाबाट भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रले कारबाही गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषलाई लिखित निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालय, वन तथा वातावरण मन्त्रालयलाई बोधार्थ समेत पठाउँदै अधिकारीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

केन्द्रले अधिकारीको शैक्षिक योग्यता कोषको सदस्य सचिमा नियुक्त हुनका लागि न्यूनतम मापदण्ड पूरा नभएको जनाएको छ । केन्द्रका अनुसार अधिकारीले जर्नालिज्म एण्ड मास कम्युनिकेसनमा स्नातकोत्तर गरेका छन् ।

२०७७ पुस ३ गते तत्कालिन वन तथा वातावरणमन्त्री तथा कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले अधिकारीको नियुक्ति गरेका थिए ।

कोषको संरक्षक प्रधानमन्त्री हुने र संरक्षकले कोषको अध्यक्ष नियुक्त गर्ने व्यवस्था राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन २०३९को दफा ५ (६)मा गरिएको छ । त्यतिबेला प्रधानमन्त्रीले कोषको अध्यक्षमा वनमन्त्री बस्नेतलाई नियुक्त गरेका थिए ।

सामान्यता कोषका अध्यक्षमा वनमन्त्रीलाई नियुक्त गर्ने परम्परा छ । कोषको अध्यक्षको हैसियतले बस्नेतले अधिकारीलाई नियुक्त गरेका थिए । सदस्य सचिव नियुक्तको लागि वन तथा वातावरण मन्त्रालयले तयार गरेको मापदण्ड र कार्यविधिसँग अधिकारीको नियुक्त प्रक्रिया र मापदण्ड नमिलेको केन्द्रको भनाइ छ ।

वन तथा वातावरण मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३ अनुसार कोषको सदस्य सचिव नियुक्त गर्नकोलागि वन, विज्ञान वा प्राकृतिक स्रोत व्यवस्थापन विषयमा कम्तीमा स्नात्तकोत्तर उपाधी हाशिल गरी सम्बन्धित विषयमा कम्तीमा ५ वर्षको अनुभव गरेको हुनु पर्ने व्यवस्था गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics