बाघले किन मानिसलाई आक्रमण गर्छ ?

समाचार टिप्पणी

काठमाडौं – पछिल्लो समय बाघले मान्छेलाई आक्रमण गरेका घटना सार्वजनिक भइरहेका छन् । यसै कारणले मानिस पनि बाघ प्रति आक्रामक बनेको देखिन्छ, नतिजा – बाघको हत्या भएको अवस्थामा शव भेटिएका छन् । तर, अनुसन्धानले भन्छ, ‘मान्छे बाघको प्राकृतिक आहार होइन । बाघले मानिसलाई गर्ने आक्रमण प्रायः दुर्घटनात्मक मात्रै हो ।’


विभिन्न अनुसन्धानले देखाएअनुसार ९५ प्रतिशत बाघहरू मानिसको सम्पर्कमा नआउने स्वभावका हुन्छन् । बाँकी पाँच प्रतिशतले मानिसलाई समस्या सिर्जना गर्ने सम्भावना हुन्छ । ती बाघलाई प्राविधिक उपकरण र विज्ञहरूको निरीक्षणको सहयोगमार्फत पहिचान गर्न सकिने विज्ञ बताउँछन् ।


बाघ प्राकृतिक रूपमा लजालु स्वभावको हुन्छ । तिनीहरू प्रायः रात परेपछि सक्रिय र आक्रामक हुन्छन् । दिउँसोको समयमा वासस्थानबाट बाहिर निस्कँदैनन् । बाघहरू मानिसहरू वा अन्य खतराको अवस्था देख्दा त्यसको निकास खोज्छन् । बढी मानिसको चहलपहल भए आक्रमण गर्नुको साटो त्यस्तो अवस्थामा आफैँ बाटो छोडेर हिड्छन् । आफु भन्दा अग्लो जीवबाट लुक्न खोज्छन् ।


मानिसलाई आक्रमण गर्नुको कारणहरू बाघको आहार र वासस्थानसँग पनि जोडिएका छन् । समूहमा कमजोर ठहरिएका, बुढो वा बिरामी भएका बाघहरू प्राय मानिस भएतिर आकर्षित हुन्छन् । बाघ निश्चित क्षेत्रलाई आफ्नो वासस्थान बनाएर बस्ने प्राणी भएको र अन्य जनावर त्यस क्षेत्रमा आउँदा द्वन्द्व सिर्जना हुने विज्ञहरू बताउँछन् ।



सिर्जित द्वन्द्वमा बलियो बाघले जित्छ र क्षेत्रमा कब्जा गर्छ । कमजोर बाघ त्यहाँबाट विस्थापित हुने बताइन्छ । नयाँ क्षेत्रको खोजीमा बाघहरू मानवीय गतिविधि हुने ठाउँहरूसम्म पुग्छन् । र, एक सुरमा काम गरिरहेकाहरूलाई आक्रमण गर्छन् । किनकि त्यस्ता ठाउँमा आहारको कमी हुन्छ । यो विविध अध्ययनहरूको निष्कर्ष पनि हो ।


हाल भइरहेका आक्रमणहरूमध्ये ९० प्रतिशतभन्दा बढी जंगलमै भएका छन् । आवश्यकता पूर्तिका लागि मानिसहरू जंगलमा पुग्छन् । त्यहाँ निउरिएर काम गर्छन्, घाँस काट्छन् वा दाउराको खोजी गर्छन् । त्यसरी निउरिएर जंगलमा काम गर्ने वा पुग्नेलाई बाघले मानिसलाई मृगजस्ता आहार ठानेरै हमला गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् ।


चितवन, बर्दिया र शुक्लाफाँटा निकुञ्ज क्षेत्रमा बाघको आहारको घनत्व पर्याप्त भए पनि पर्सा र बाँके निकुञ्जमा कम देखिएको अनुसन्धानहरूले देखाएको छ । तर, ती क्षेत्रमा बाघ पनि कम भएकाले त्यसलाई समस्या मान्न नसकिने बताइन्छ ।


बाघहरू सहज आहारको खोजी गर्छन् । मानिस आफूभन्दा कमजोर हुने भएकाले पनि एक पटक आक्रमण गरे पछि त्यसकै बानी लाग्न पनि सक्छ । केही समय अघि बाँकेमा शृंखलाबद्ध रूपमा मानिसको आक्रमण गर्ने बाघ एउटै भएको विज्ञले बताएका थिए । किनकि उनीहरूलाई सहज आहारसँगै एउटै स्वादको पनि बानी लाग्छ ।



हाल भइरहेका आक्रमणहरूमध्ये ९० प्रतिशतभन्दा बढी जंगलमै भएका छन् । आवश्यकता पूर्तिका लागि मानिसहरू जंगलमा पुग्छन् । त्यहाँ निउरिएर काम गर्छन्, घाँस काट्छन् वा दाउराको खोजी गर्छन् । त्यसरी निउरिएर जंगलमा काम गर्ने वा पुग्नेलाई बाघले मानिसलाई मृगजस्ता आहार ठानेरै हमला गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् ।

नेपालमा मानव बस्ती र जंगल निकै नजिक भएकाले बाघहरू सहजै मध्यवर्ती क्षेत्र वा बस्ती क्षेत्रमा पस्न सक्छन् । बाघहरू बस्तीमा छिर्नुको अर्को कारण जंगल टुक्रिनु वा खुम्चिनु समेत भएको बताइन्छ । उनीहरू मानव बस्तीमा मात्र नभई कोरिडोरमार्फत अन्य जंगलमा समेत पुग्ने गर्छन् ।


बाघको संख्या बढ्दै जाँदा वासस्थानको कमी हुने र यस्ता गतिविधि देखिने विज्ञको दाबी छ । हाल बाघ निकुञ्ज बाहिरका राष्ट्रिय वा सामुदायिक वनदेखि मध्यवर्ती क्षेत्र र बस्तीसम्म पस्ने समस्या विशेषगरी बाँके र बर्दियामा देखिएका छन् । बाघ नभएको क्षेत्रमा बाघ देखिएपछि त्यहाँका मानिसहरूले व्यवहार परिवर्तन गरे । सजग हुने र बच्ने उपायहरू अपनाउने गरे । बाघको संख्या अझै बढ्दो छ । अब बाँके र बर्दिया वरपरका गाउँलेहरूले पनि आफ्नो व्यवहार र गतिविधि फेर्न आवश्यक देखिन्छ ।


मानिस उभिँदा बाघभन्दा अग्लो हुन्छ । त्यसैले बाघ मानसिक रूपमा मानिससँग डराउने अध्ययनहरूले देखाएको छ । जब मानिस झुकेर एक सुरमा काम गरिरहेको हुन्छन् तब सानो देखिन्छ र बाघले आफ्नो आहारजन्य जीव ठानेर आक्रमण गर्छ ।


निकुञ्ज क्षेत्रहरूमा मानिसको उपस्थिति निषेध गरिएको छ । त्यहाँ मानिसको चहलपहलमा रोक लगाउनु पर्ने अधिकारीहरू बताउँछन् । उनीहरू आवश्यकता पूर्तिका लागि त्यहाँ जानै परे समूहमा जाने, झाडीहरू वरपर सतर्क रहन सुझाउँछन् ।


बाघको पाइलाको डोब खतराको संकेत हो । ती पाइला नयाँ हुन् या पुरानो भन्नेमा ध्यान दिनु पर्छ । त्यस्तै बाघको उपस्थिति गन्धबाट पनि थाहा हुन्छ । उनीहरूले आफ्नो क्षेत्र निर्धारण गर्नका लागि पिसाब फेरेका हुन्छन् । चितवन राष्ट्रिय निकुञ्ज वरपरका र मध्यवर्ती क्षेत्रका राष्ट्रिय तथा सामुदायिक वनहरू बाघ विचरणका मुख्य स्थान हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics