ताप्लेजुङको नाङ्खोल्याङ क्षेत्रको जंगलमा भीषण आगलागी, नियन्त्रणमा समस्या
- नेचर खबर
ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका स्थित नांखोल्याङको जंगलमा भीषण आगलागी भएको छ । तमोर नदी र खहरे खोलाको छेउ हुँदै काबेली नदीको भित्ताको भिर र जंगलमा आइतबार विहानै बाट भिषण आगलागी भएको हो ।
यो समाचार तयार पार्दा (आइतबार रातको १० बजे) पनि जंगलमा आगलागी भइरहेको पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिए । उनले नेचर खबरसँग टेलिफोनमा कुराकानी गर्दै भने, ‘मैले विहान नै जंगलमा आगलागी सुरु भएको जानकारी पाएँ । १ नंबर वटा क्षेत्रबाट आगलागी सुरु भएको रहेछ । आगालागीको उच्च जोखिममा मेवाखा क्षेत्र पर्छ । हाल सम्म मानविय र घरमा क्षति भने भएको छैन ।’
उनका अनुसार आगो नियन्त्रणमा लिन विहान फुङ्लिङ नगरपालिकाको दमकल बोलाए पनि नआएको उनले बताए । ‘आगो अहिले वडा नंबर २ तर्फ पनि फैलिएको छ । जंगलमा लागेकाले नियन्त्रणमा लिन सम्भव भएको छैन । पानी नपरेको नै ७ महिना भएछ । पुरै जंगल नै सुख्खा छ । पानी छैन । कसरी नियन्त्रणमा लिने उपाय खोजिरहेका छौं,’ उनले भने ।
पुरै भिरको पुच्छारबाट आगलागी भएको सामाजिक सञ्जालमा राखिएको भिडियो र फोटोहरूमा पनि देखिन्छ । उक्त भिडियो र फोटो सुर्य खड्काले आफ्नो फेसबुकमा राखेका छन् । र, आगलागीको असर मानव, वन्यजन्तु र वनमा बढी पर्ने उनले भिडियोमा बताएका छन् ।
उक्त आगलागीको अवस्था भिडियो र फोटोमा हेर्दा कसैले लगाएजस्तो देखिन्छ । आगो तमोर किनारबाट काबेली किनार हुँदै जंगल तर्फ फैलिएको छ । आगलागीबाट सालका लाखौं रूख बिरुवा नस्ट हुने देखिन्छ । रूखका पात सुकेर खसेकाले आगो अझै फैलने जोखिम रहेको अध्यक्ष सुब्बा बताउँछन् । उनले आगलागी क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन पनि आग्रह गरे ।
(भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्)
प्रतिक्रिया दिनुहोस