रौतहटमा अब सहजै काठ खरिद गर्न पाइने

रौतहट – लामो समयदेखि लथालिङ्ग अवस्थामा रहेको रौतहट बन आपूर्ति समिति व्यवस्थित हुँदै गएको छ। काठ दाउराको लागी निवेदन दिएर वर्षौ कुर्नुपर्ने अवस्थाको अन्त्य भएर अब सहज रुपमा काठ दाउरा बितरण भइरहेको छ।

डिभिजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्र र समिती अध्यक्ष रामाप्रवेश दास तत्माको सहकार्यमा आपूर्ति समिति व्यवस्थित हुँदै गएको हो। व्यवस्थित भएसँगै आपुर्ति समितिमा काठको लागी निवेदन दिएर वर्षौ कुर्नुपर्ने व्यवस्थाको अन्त भएको छ।

अब सेवाग्राहीले घर कामको लागि निवेदन दर्ता गर्नासाथ कारवाही प्रक्रिया सुरु हुने गरेको अध्यक्ष तत्माले बताएका छन्। दैवीप्रकोप अथवा छोरीको बिहेको लागी फर्नीचर बनाउन प्रक्रिया पूरा भए हातका हात आवश्यक काठ उपलब्ध भइरहेको उनको भनाई छ।

मधेश प्रदेश सरकार बन तथा वातावरण मन्त्रालय बाट गत साउन १८ गते लोकतान्त्रीक समाजवादी पार्टीको सिफारिसमा कटहरिया नगरपालिका २ जमुनियाका रामाप्रवेश दास तत्मा जिल्ला बन पैदावार आपूर्ति समिति रौतहटको अध्यक्षमा मनोनीत भएका थिए। हाल रौतहट आपुर्ति समिति प्रदेशमै उत्कृष्ट भएको उनको दाबी रहेको छ।

दैवि प्रकोप घरमा आगलागी हुँदा प्रती परिवार ४० क्युबि सालको काठ, छोरीको बिहेमा फर्नीचर को लागि सालको ३० क्युबी साल अथवा अन्य जातको काठ हातका हात उपलब्ध गराईरहेको आपुर्ति समितिका अध्यक्ष तत्माले बताएका छन । त्यसैगरी साना उद्योगीहरू लाई तथा विकास निर्माण, विद्यालय, धर्मशाला, मठ मन्दिर, अस्पतालमा फर्निचर निर्माणका लागि १५० क्युबि , घरकाजमा ७० क्युबि काठ बितरण भइरहेको अध्यक्ष रामाप्रवेश दास तत्माले बताएका छन्।

विगतमा काठको लागि निवेदन दिएर तिन चार वर्ष कुर्नुपर्ने अवस्था थियो अहिले त्यो अवस्थाको अन्त भएर आवश्यकता अनुसारको काठ हातका हात बितरण भइरहेको अध्यक्ष आत्माले दाबी गरेका छन्। गत मंसिर देखि काठ वितरणको लागी स्थलगत निरीक्षण पश्चात १२ सय सेवाग्राही लाई काठ उपलब्ध गराउन नाम निस्केको छ, आगामी वैशाख महिना भित्र थप ८०० सय सेवाग्राहीको नाम निकाल्ने लक्ष्यका साथ काम अगाडि बढेको उनले बताए। विगतमा लथालिङ्ग हुँदा उपभोक्ताले आश मारिसकेका थिए। अहिले निवेदन दिएका लाई प्रक्रिया पुर्याएर एकहप्ता भित्र काठ दिने गरिएको छ।

१८ स्थानीय तह रहेको रौतहटमा चन्द्रनिगाहपुर स्थित आपुर्ति समितिले काठ बितरण गर्दा दक्षिणी भेगका जनतालाई कठिनाइ भइरहेको छ। आउँदा दिनमा थप पायक एकस्थानमा डिपो राख्ने योजना रहेको अध्यक्ष तत्माले बताएका छन्। त्यसैगरी यस आर्थिक वर्षमा एकघर एक बिरुवा लगाउने उद्देश्यले १० लाख रुपैयाँ छुट्याएको छ। पाँच लाखको आँप लिची बिरुवा किनेर बितरण गर्ने, पाँच लाखको बिरुवा बनको नर्सरीमै उत्पादन गराई बितरण गर्ने योजना रहेको तत्माले बताएका छन्।

डिभिजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले यस आर्थिक वर्षमा १५६ जना सेवाग्राही लाई घरकाज , दैवीप्रकोप ७८ जनालाई काठ र १३८ जना सेवाग्राहीलाई दाउरा उपलब्ध गराइएको बताएका छन्। घरकाजमा बितरण गरिएको १० हजार ९७६ क्युबि फिट, दैवीप्रकोपमा तीनहजार १ सय साढे ७५ क्युबि फिट र ९८ चटा दाउरा बितरण बाट कुल २ करोड,१३ लाख,९२ हजार, २७८ रुपैयाँ राजस्व संकलन गरिएको डिवीजन प्रमुख मिश्रले जानकारी दिएका छन्।

रौतहट बन आपूर्ति समिति विगतको भन्दा व्यवस्थित भएको छ , हाल देखिएको केही साधनस्रोतको कमीलाई आगामी दिनमा थप व्यवस्थित गर्ने प्रमुख मिश्रले प्रतिवद्धता जनाएका छन्। बन आपूर्ति समितिले सही उपभोक्ताको पहिचान गरी सहज रुपमा काठ दाउरा बितरण सुरु गर्दा राष्ट्रिय तथा सामुदायिक बनमा विगतको तुलनामा हानी नोक्सानी कम हुँदै गएको स्थानीयहरूले बताएका छन्। यस अघि घरकाज अथवा फर्निचरको लागी डिवीजन बन कार्यालय रौतहटले सहज रुपमा काठ दाउरा उपलब्ध नगराउँदा बाध्य भएर स्थानीहरू चोरी कटानी गरी साल लगायत जातको काठ बन बाट ल्याउने गरेका थिए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics