यस्तो छ चेपाङ, चिउरी र चमेरोबिचको पारिस्थितिक प्रणाली सुदृढ पार्ने निर्देशिका

काठमाडौं – चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने बाटो खुलेको छ । बागमती प्रदेश सरकारले यसका लागि निर्देशिका तयार गर्दै राजपत्रमा प्रकाशित भएसँगै चेपाङ समुदायको उत्थानका लागि यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने बाटो खुलेको हो । प्रदेश सरकारले केही अघि कार्यविधि स्वीकृत गरेको र माघ २५ मा राजपत्रमा प्रकाशित भएसँगै अब चिउरी र चमेरो संरक्षणका कार्यक्रमहरू सुरु हुने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कार्यक्रमले चेपाङ समुदायको आर्थिक तथा सामाजिक क्षेत्रको उत्थान गर्नुका साथै परम्परादेखि जोडिएको चेपाङ चिउरी र चमेरोबिचको पारिस्थितिक प्रणाली सुदृढ पार्न सहयोग पुर्याउने भएकाले कार्यक्रम कार्यान्वयनको तयारी मन्त्रालयले गरेको छ ।

कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले गत माघ १२ गतेको मन्त्रिपरिषद् बैठकमा निर्देशिका स्वीकृत गरिसकेको थियो । मन्त्रिपरिषद्को उक्त बैठकले ‘चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन निर्देशिका, २०८०’ स्वीकृत गरेपछि प्रदेश सरकारले चेपाङ जातिको बाहुल्य रहेको मकवानपुर, चितवन र धादिङका विभिन्न ६ पालिकामा कार्यक्रम लागू गर्ने बताइएको छ ।

चेपाङ समुदायको बसोबास रहेको मकवानपुरको राक्सिराङ्ग गाउँपालिका, धादिङको गजुरी र बेनिघाट रोराङ गाउँपालिका, चितवनको राप्ती नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा कार्यक्रम लागू गर्ने सरकारको तयारी रहेको छ । प्रदेश सरकारले उक्त कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्ष २०८०-०८१ मा चिउरी र चमेरो संरक्षणका लागि भन्दै ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तो छ निर्देशिका

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics