मेलाबाट आम्दानी, पर्यटकीय पूर्वाधारमा लगानी

म्याग्दी – मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ ।

मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो ।

क्लबका पूर्वअध्यक्ष मिलन छन्त्याल (शेरबहादुर)ले मच्छिमको डाँडामा दृश्यावलोकनस्थल, सार्वजनिक शौचालय र प्रतिक्षालय निर्माण गरिएको जानकारी दिए ।

मच्छिमको दृश्यावलोकनस्थलबाट मच्छिम र छिमेकी गाउँ, नागबेली परेर बगेको म्याग्दी नदी, धवलागिरि, गुर्जालगायत हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँ जानकारी र सूचनामूलक बोर्ड राखिएको छ ।

गर्मीमा शीतल र चिसोमा घाम ताप्दै दृश्यावलोकन गर्न सकिने भएको छ । पानी पर्दा, हावाहुरी चल्दा प्रतिक्षालयमा आश्रय लिन सकिन्छ । यसैगरी शवदाहस्थल बनाएको, खेलमैदान र खानेपानी आयोजना मर्मत गरिएको छन्त्यालले जानकारी दिए ।

हेम नमूना आवासीय मावि, काफलडाँडा, मच्छिमको भूमे आधारभूत, फलियागाउँको धनजनता माविलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । गाउँका विपन्नलाई दाल, चामल सहयोग गरिएको छन्त्यालले बताए ।

युवाहरूलाई फुर्सदको समयमा सामाजिक काम र खेलकुद गतिविधिमा सहभागी गराउँदै आएको छ । मच्छिम गाउँमा एक सय २० घरधुरीको बसोबास छ ।

अल्पसङ्ख्यक छन्त्याल, दलित, थकाली, क्षत्री र मगर समुदायको बसोबास रहेको छ । गाउँपालिकाको केन्द्र मुना जोड्ने मूल सडकमा पर्ने मच्छिमगाउँ गुरिल्ला’ पदमार्गमा पर्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics