यस कारण जलिरहेछन् ताप्लेजुङका वन

सुरज ओझा -
ताप्लेजुङ पूर्वी नेपालको सुन्दर जिल्लाको हो । वन, वातावरण, पर्यटकीय क्षेत्र र भूगोलका कारण यो जिल्ला ‘स्वर्गको एक टुक्रा’ हो भन्दा पनि फरक पर्दैन । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा, धार्मीक महत्त्वसमेत रहेको कुम्भकर्ण हिमाल र पाथीभराले जिल्लाको मान र सान अझै उच्च बनाएको छ । ठूलो क्षेत्र वनले ढाकेकाले वन्यजन्तु र जडिबुट्टीले यहाँको गौरव कम छैन ।

विश्वमै नमुनाको रूपमा रहेको कञ्चनजंघा संरक्षण क्षेत्र र विभिन्न सामुदायिक वनले गरेका कामसँगै रेडपाण्डा संरक्षणमा जिल्ला नामी छ । तर, सबै भन्दा ठूलो कुरा यीनै भएका जैविक विविधता संरक्षणलाई निरन्तरता दिनु रहेछ । अनि, यसलाई जोगाईराख्नु रहेछ । यो सबैभन्दा बढी चूनौतीको विषय पनि हो ।

जब बर्खा लाग्छ, बाढी, पहिरो र चट्याङ्को डर, अनि जब हिउँद लाग्छ वनमा डढेलोको पीर । हो अहिले यहीँ डढेलोको मार खेपिरहेको छ ताप्लेजुङले । जलवायु परिवर्तनको असरका कारण समयमा पानी पर्न छाड्यो । शिरमा रहेका हिमाल काला बन्न थाले । यसपटक त हिउँदमा पानी नै परेन भन्दा पनि हुन्छ । किनकी सामान्य झरीले माटो भिजेन, रूखका पातमा टाँसीको माटो पनि झरेन । पानी नपरेको नै लगभग ७ महिना कट्यो । यसको असर अहिले वनमा परेको छ । वन सुख्खा छ । जनुसुकै स्थानमा डढेलो लाग्ने अवस्था छ ।

पछिल्ला दिनमा पापुङ क्षेत्रसहित सदरमुकाम नजिकैको नाङ्खोल्याङ र थेचम्बु क्षेत्रका वन जलिरहेका छन् । ठूलो वन क्षेत्र भएकाले समयमा निभाउन सक्ने अवस्था छैन । कति स्थानमा त मानिसको नियन्त्रण बाहिर आगो पुगिसकेको छ । सामुदायिक वन, दमकल, स्थानीय र सुरक्षा निकायको सक्रियतामा घर र मानविय क्षति हुन त दिइएको छैन । तर, वनमा भएका जडीबुट्टी, वन्यजन्तु र वहुमुल्यका रूख र विरुवा जलेर खरानी भइरहेका छन् ।



जिल्लामा धेरै सामुदायिक वन पनि छन् । तिनिहरू वन संरक्षणमा संवेदशिल भएर नै लागेका छन् । तर, आर्थीक अभाव र जनशक्ति अभावका कारण यस्ता प्राकृतिक तथा मानविय प्रकोपलाई नियन्त्रण गर्न अझै सक्षम भइसकेका छैनन् । गरौं भनेर पनि गर्न सकेका छैनन् ।

पछिल्लो समय चुनौती बनेको वन डढेलो अधिकांश स्थानमा मानिसले लगाएर नै सुरु भएको भन्न सकिन्छ । तर, उनीहरूलाई नियन्त्रणमा लिन र कारबाही गर्न सकिएको छैन । मानिसमा अझै पनि वनमा आगो लगाउँदा घाँस पलाउँछ भन्ने मानसिकता छ । यो जनचेतनाको अभाव हो । जंगलमा आगो लगाए घाँस भन्दा महत्त्वपूर्ण कुरा नस्ट हुन्छन् भन्ने उनीहरूलाई बुझाउन आवश्यक छ ।

हामीले आगो नलगाई वन राखे वनमा हुने वन्य जन्तुले नै वनलाई हराबरा बनाउँछन् । घाँसे मैदानमा हरियाली भरिन्छ । जंगली जीव–जन्तु पनि त्यहाँ आइपुग्छन्, मैदान गुलजार पार्छन् । नयाँ पलाएको ताजा नरम घाँस यि जनावरहरूको विकासमा सहयोगी भइदिन्छ ।

वन भए वातावरण स्वच्छ हुन्छ । त्यसैले वन र वातावरण जोगाउन सबै सचेत बन्नु पर्छ । सरकारले वनमा हुने यस्ता विनास रोक्न योजना बनाउनुपर्छ । सञ्चारमाध्यमले प्रचार र जनचेतना विकास गर्नुपर्छ । अझै पछिल्लो समय स्थानीय निकाय पनि छन् । उनीहरू यो विषयमा अझै जिम्मेवार भएर लाग्नुपर्छ ।
(ओझा सामुदायिक वन उपभोक्ता महासङ्घ ताप्लेजुङका अध्यक्ष हुन्)

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics