पोखरामा पार्क मासेर संरचना नबनाउन उच्च अदालतको आदेश

पोखरा – सन् १९९८ मा नेपालमा मनाइएको भ्रमण वर्षको छेको पारेर पोखरा लेकसाइड, बाराहीघाटमा ‘भीएनवाई’ अर्थात् भिजिट नेपाल इअर पार्क बनाइएको थियो । पार्क मासेर संरचना बनाउन लागेपछि अदालतले यसलाई रोकेको छ ।

उच्च अदालत पोखराले पार्कमा कुनै पनि बहानामा संरचना नबनाउन आदेश दिएको हो । तत्कालीन समयमा सार्वजनिक र खुला जग्गा मिचिँदै गएपछि खुला ठाउँ राख्न त्यहाँ पार्क बनाइएको थियो । चारैतिर बाटोले घेरिएको पार्क करिब २ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

न्यायाधीश मिलनकुमार राई र अमृतबहादुर बस्नेतको संयुक्त इजलाशले पार्कमा कुनै पनि बहानामा संरचना नबनाउन आदेश दिएको हो ।

बाराही चोकस्थित भीएनवाई पार्कमा पोखरा सार्वजनिक शौचालयको नाममा व्यापारिक संरचना बनाउन लागिएको भन्दै गत असार २७ गते स्थानीय अनिल थापा, राजेन्द्र अधिकारी, आनन्द कुँवर, कृष्ण बराल, सुजन बाटाजूले रिट दायर गरेका थिए ।

उनीहरुको रिटउपर असार २८ गते सुनुवाइ गर्दै अदालतले शौचालयको काम तत्काललाई रोक्न अल्पकालीन आदेश दिएको थियो । सोही आदेशलाई मंगलबार उच्च अदालत पोखराले सदर गरेको हो ।

खुलास्थान बनाउने अवधारणासहित बनाइएको पार्कमा पोखरा महानगरले १५ वर्षका लागि सार्वजनिक शौचालय बनाउने नाममा व्यापारीको जिम्मा लगाउन लागेको थियो ।

सूर्य नेपाल प्रालिले संस्थागन सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत १ करोड ४० लाख रुपैयाँमा बन्ने भनिएको आधुनिक शौचालय चलाउने जिम्मा महानगरले निजी कम्पनी ‘एरोसान सस्टेनेबल स्यानिटेसन’ नामक कम्पनीलाई दिन लागेको थियो । महानगरले प्रालिलाई जिम्मा दिने गरी भीएनवाई पार्कमा बनाउन लागेको शौचालयभन्दा मुस्किलले ५० मिटरको दूरीमा २ वटा सार्वजनिक शौचालय छन् । बाराही चोकमै एउटा महानगरकै सार्वजनिक शौचालय १५ वर्षदेखि चालु अवस्थामा छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics