कहाँ पाइन्छ मुसे मृग ?

काठमाडौं – मृगको बारेमा त धेरै ले सुनेकै छन् । तर, यसका प्रजातिका विषयमा कमै चर्चा हुन्छ । विभिन्न कारणले गर्दा केही प्रजाति लोप भएका छन् । केही लोप हुने खतरामा पनि छन् । त्यसमध्ये एक प्रजाति हो ‘मुसे मृग’ । यसलाई अंग्रेजीमा ‘माउस डियर’ भनिन्छ ।

नेपालमा यो उष्णप्रदेशीय अर्थात् गर्मी हुने घना जंगलमा पाइन्छ । वन्यजन्तुविद्का अनुसार मुसे मृग धोद्रा रूखहरू, रूखका कापहरू, ढुंगाको प्वाल परेको ठाउँमा बस्न रुचाउँछ ।

नेपालको इतिहास हेर्ने हो भने मुसे मृग २०१०÷२०१२ साल तिर चितवन, नवलपरासी, इलाम, झापा र कोशीको घना जंगलमा पाइएको थियो । विदेशी अनुसन्धानकर्ताले पनि त्यो पुष्टि गरेका थिए । यसको बारेमा सन् १८४२ मा तत्कालीन बेलायती राजदूत हड्सनले पनि पुष्टि गरेका थिए ।

त्यतिबेला नै विभिन्न तरिकाले संकलन भएको मुसे मृगको अंगप्रत्यंग (आखेटोपहार) स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालयमा देख्न सकिन्छ । सन् १९९९ तिर इलामको चुलाचुली पहाडी शृंखलामा अध्ययन गर्दा स्थानीय बासिन्दाले यस्तो जनावर भएको बताएका थिए ।



अनुसन्धानदाताहरूका अनुसार अहिले नेपालमा मुसे मृग पाइने कुरामा ठूलो सन्देह छ । तर, झापाको जलथल जंगलमा खेले हुर्केका स्थानीयहरू केही वर्षअघिसम्म यो मृग आँखैअघि देखेको वर्णन गर्छन् । झापा, हल्दिवारी गाउँपालिका–४ का श्यामलाल मेचेको बाल्यकाल जलथल जंगलमा घाँस, दाउरा गरेरै बित्यो । त्यही भएरै पनि मेचेलाई जंगलमा कुन–कुन वन्यजन्तु पाइन्छन्, के कस्ता रुख बिरुवा पाइन्छन् भन्ने बारे राम्रो जानकारी छ । मेचेका अनुसार, जलथल जंगलमा चार, पाँच केजीसम्मका मृग ६÷७ वर्ष अघिसम्म देखिन्थ्यो ।

साह्रै सानो हुने भएकाले पनि यसलाई मुसे मृग भनिएको हो । यसको लम्बाइ ४० देखि ५० सेन्टिमिटरको हुन्छ । उचाइ २५ देखि ३० सेन्टिमिटरको हुन्छ । यसको तौल बढीमा ५ किलोग्रामसम्म हुन्छ । झट्ट हेर्दा चित्तल मृगको बच्चा जस्तो देखिन्छ । सिङ हुँदैन । भाले पोथी उस्तैउस्तै देखिन्छ । कान ठुटो हुन्छ । लामो दाँत बाहिर निस्केको हुन्छ । । डर त्रास भयो भने तेर्साे रूखमा चढेर बस्छ । ठूला जीवसँग डराउने भएकाले अधिकांश समय लुकेर नै बस्छ । कतिसम्म कमजोर हुन्छ भने यसलाई वन बिरालोले समेत खाइदिन्छ । यो भारत, थाइल्यान्डसम्मै पाइन्छ ।

रातमा पानी नजिक भएको जंगलमा विचरण गर्ने मुसे मृग अत्यन्त लजालु स्वभावको हुन्छ । दिनमा भने घारीभित्र लुक्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics