नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ संरक्षित छ ?
- नेचर खबर
काठमाडौं – ‘नेपालमा मात्रै पाइने चरा कुन हो ?’ – यो प्रश्न हाजिरीजवाफ प्रतियोगिता होस् या अन्य प्रश्न–उत्तर कार्यक्रम, धेरै पटक सोधिएकोमा पर्छ । अनि अधिकांशले उत्तर पनि मिलाउँछन्, – काँडे भ्याकुर ।
लोपोन्मुख काँडे भ्याकुर बर्खामा १५००–२१३५ मिटर र हिउँदमा ५००–१८३० मिटर उचाइसम्म पाइन्छ । र, सामान्यतः बाक्लो झाडी तर खेतीपाती लगाइएको ठाउँभन्दा अलि टाढै बस्न रुचाउँछ । यो समुद्र सतहबाट १२ सय मिटरभन्दा माथि रहेका पश्चिम नेपालको डोटी र राराताल वरपर पनि न्युन संख्यामा पाइएको छ भने, काठमाडौं उपत्यका क्षेत्रमा बढी पाइन्छ । तर, पछिल्लो समय यसको संख्या पनि विभिन्न कारणले घट्दै गएकोमा संरक्षणकर्मी चिन्तित् छन् ।
काँडे भ्याकुर धादिङको शिद्धलेक गाउँपालीका स्थित नलाङ्गको ढेवा लेकमा अत्याधिक भेटिएको छ । यो नलाङ्गकै फाकफुक भन्ने ठाँउको जंगलमा पनि भेटिएको छ । शिद्धलेक गाउँपालीका अहिले यो चराको संरक्षणमा जुटेको छ ।
काँडे भ्याकुर विश्वकै निम्ति नयाँ पक्षी भएको पत्ता लगाउने श्रेय भने ब्रायन हड्सनलाई जान्छ । हड्सनले सन् १८३० मा यो पक्षी काठमाडौं उपत्यकामा फेला पारेका थिए । हड्सनले १८३६ मा प्रकाशित आफ्नो लेखमा यो पक्षीको नाम टिमालिया निपालेन्सिस् राखे ।
त्यतिबेला कलकत्तास्थित जन्तु संग्रहालयमा क्युरेटर थिए– एडवार्ड ब्लिथ । ब्लिथलाई भारतीय पक्षी विज्ञानका पिता नै भनिन्छ । उनै ब्लिथले सन् १८५५ मा हड्सनद्वारा ‘डिस्क्राइब’ काँडे भ्याकुरको वैज्ञानिक टिमालिया नभई एकान्थोप्टिला समूहको हो भन्ने निक्र्योल गरे ।
यो ढुकुरभन्दा केही सानो र खरानी रंगको हुन्छ । काँडे भ्याकुर १२ सय मिटरभन्दा माथिको भूभागमा बस्न रुचाउँछ । यो चरा करिब २६ सेन्टिमिटर लामो हुन्छ । यसले ओसिलो क्षेत्रमा आहारा खोज्छ । यसले एकपटकमा दुईवटासम्म अण्डा कोरल्ने बताइन्छ । काँडे भ्याकुर प्रायः समूहमा बस्न रुचाउँछन् । लजालु स्वाभावको यो चरालाई सजिलैसँग फेला पार्न सकिँदैन ।
यसको संरक्षणमा राज्यबाटै कार्यक्रमहरू र योजनाहरू खासै बनेका छैनन् । नेपाली भूमिमा मात्र पाइने काँडे भ्याकुरलाई जोगाउन सरकारले बेलैमा दीर्घकालीन अवधारणा लागू गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस