मानिसप्रति आक्रामक बाघ नियन्त्रणमा

पर्सा – पर्साको जिल्लाको ग्रामीण क्षेत्रबाट एउटा बाघलाई नियन्त्रणमा लिइएको छ । गाउँमा आतंक मचाएको भन्दै चितवन राष्ट्रिय निकुञ्ज र पर्सा निकुञ्जको प्राविधिक टोलीले सखुवाप्रसौनी गाउँपालिका–२ स्थित उखुबारीबाट उक्त बाघलाई बिहीबार ‘डार्टगन’ प्रयोग गरी नियन्त्रणमा लिएको हो ।

विगत एक महिनादेखि जिल्लाको उत्तरी ग्रामीण भेगमा यसले आतंक मच्चाएको जिल्ला वन कार्यालय पर्साले जनाएको छ ।

दुवै निकुञ्जका टोलीलाई बाघ नियन्त्रणका लागि तीन वटा हात्तीमा १० दिन देखि खटाइएको जिल्ला वन कार्यालयका प्रमुख हेमन्त साहले जानकारी दिए । साहका अनुसार प्राविधिक टोलीले भाले पाटे बाघलाई डार्टगन प्रहार गरी नियन्त्रणमा लिएको हो ।

बाघ हिँड्ने सम्भावित क्षेत्रमा सीसीटीभीसमेत जडान गरिएको थियो । बुधबार राति सीसीटीभीमा रेकर्ड भएको फुटेजका आधारमा बिहीबार दिउँसो उखुबारीमा बाघ फेला परेपछि डार्ट हानेर बेहोस पारिएको जिल्ला बन कार्यालयले जनाएको छ ।

नियन्त्रणमा लिइएको बाघलाई गाडीमा राखेर चितवन राष्ट्रिय निकुञ्जमा लगिएको वन कार्यालय प्रमुख साहले बताए ।

बाघको आक्रमणबाट सो क्षेत्रमा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । यस्तै बाघले दर्जनौँ चौपाया मारेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics