सगरमाथा आरोहीका लागि गाउँपालिकाले तयार पार्‍यो कडा नियम

काठमाडौं – सगरमाथा क्षेत्रलाई सफा बनाउन यस क्षेत्रमा रहेको स्थानीय तहले आरोहीका लागि विभिन्न नियम तयार पारी सरसफाइमा कडाई गरेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले पारित गरेको आधार शिविर व्यवस्थापनसम्बन्धी संशोधित कार्याविधि अनुसार अब आरोहीले आफ्नो दिशा आफै बोकेर ल्याउनुपर्ने, स्थायी रूपमा टेन्ट वा अन्य कुनै संरचना बनाउन नपाइने र उद्धार प्रयोजनबाहेक अन्य कार्यका लागि आधारशिविरभन्दा माथि हेलिकप्टर उडान र अवतरण गर्न नपाइने भएको छ ।

गाउँपालिकाले पारित गरेको नियम अनुसार आफ्नो मल फिर्ता ल्याउन प्रतिगोटा ५०० रुपैयाँको हाराहारीमा गाउँपालिकासँग झोला किन्नुपर्ने वा सोही क्वालिटीको झोला आरोही आफैले लैजानु पर्नेछ । सगरमाथा आरोहण गर्ने प्रत्येक सदस्यलाई ८–१० गोटा झोला आवश्यक पर्ने हुन्छ ।

यस्तै सगरमाथाबाट फर्कँदा आरोहीले आठ किलोग्राम फोहर फर्काएर ल्याउनुपर्ने र आधारशिविरमा सुत्ने प्रयोजनका लागि प्रतिव्यक्ति अधिकतम ८० वर्गफिटसम्मको क्षेत्रफल प्रयोग हुने गरी पाल राख्न पाइने गरी नियम बनाइएको छ ।

आधारशिविरमा भोजन कक्षको हकमा भने प्रतिव्यक्ति अधिकतम ६० वर्गफिटसम्मको क्षेत्रफल प्रयोग गर्ने गरी पाल राख्न पाइने व्यवस्था कार्याविधिमा राख्दै गाउँपालिकाले नयाँ डोरी टाँग्ने बेला पुरानो डोरीहरू फुकालेर अनिवार्य रूपमा आधारशिविरमा फिर्ता ल्याउनुपर्ने प्रावधान राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बताए ।

भुसालका अनुसार गाउँपालिकाले दिशा बोक्ने झोला उपलब्ध गराउन मागेको टेन्डरमा एउटा मात्र कम्पनीले निवेदन दिएपछि टेन्डर पुनः आह्वान गर्ने तयारी गरेको छ । विशेष रसायन (रिएजेन्ट) भएका ‘पू ब्याग’ भनिने झोला लैजानुपर्ने र त्यसमै आफ्नो मल फिर्ता ल्याउनु पर्नेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics