शनिबार विहानै नारायणीमा नाचे जोडी डल्फिन

एआईबाट तयार पारिएको सांकेतिक तस्बिर ।

चितवन – केही समय अघि सम्म नारायणी नदीमा डल्फिन देखिन मुस्किलै पथ्र्यो । कसैले फाट्ट फुट्ट देखेको र अचानक खिचेको फोटोले ‘यहाँ पनि डलफिन पाइन्छ है’ भन्ने पुष्टि गथ्यो । तर, पछिल्लो समय केही बाक्लो गरी डल्फिन देखिन थालेपछि संरक्षणकर्मी खुसी छन् । शनिबार बिहान त नदी किनारमा एक जोडी डल्फिन भेटिएपछि स्थानीय झनै चकित भए ।

चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमलाल चुकेले शनिबार बिहान नदी किनारमा डुल्दै गर्दा अचानक डल्फिन देखेपछि भिडियोमा पनि कैद गरेका छन् ।

‘डल्फिन यता तिर मैले कहिल्यै देखेको थिइनँ । बिहान सात बजे आसपासमा मर्निङ वाक गर्दै त्यहाँ पुगेको थिएँ । अचानक दुईवटा डल्फिन देखिए । मोबाइलमा कैद भएको छ,’ चुकेले भने ।

उनले बनाएको २५ सेकेन्ड जतिको भिडियोमा चार सेकेन्ड तिर एउटा डल्फिन उफ्रँदै पानी माथि निस्केको पनि देखिन्छ । नदीमा देखिएको यस्तो दुर्लभ जीवलाई जोगाउन सबैले ध्यान दिन उनले अपिल गरेका छन् ।

नारायणगढ गौरेश्वर मन्दिरभन्दा तल गोडाकोट क्षेत्रबाट आएको सानो भंगोलो मिसिने मझुवा वन छेउमा उत्तमलाल चुकेले डल्फिनको भिडियो खिचेका हुन् ।

चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उत्तमलाल चुकेले शनिबार बिहान नारायणी नदीमा कैद गरेको भिडियोबाट लिइएको डल्फिनको तस्बिर ।


 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics