बाँदर बन्ध्याकरण सीप सिक्न पशु चिकित्सक र वन रक्षक टोली भारत तर्फ

काठमाडौं – बाँदरआतंक नियन्त्रणका लागि तालिम लिन नेपाली पशु चिकित्सक र वन रक्षकको टोली आज (आइतबार) भारतको हिमाञ्चल प्रदेश जाँदैछ । टोलीमा ११ जना भेटेरेनरी डाक्टर र चारजना फरेस्ट रेन्जर छन् ।

भारत सरकारको सहयोगमा १५ सदस्यीय टोलीलाई शुक्रबार प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले बिदाइ गरेको थियो ।

समितिमा बाँदरआतंकबाट पीडित किसानबाट नियन्त्रणको पहल गरिदिन उजुरी आएपछि सभापति डा. आरजु राणा देउवाले समन्वय गरेकी थिइन् । समितिका तर्फबाट भारतीय राजदूतावासलाई पत्र लेखेर सभापति राणाले हिमाञ्चलको सिम्लामा सञ्चालित बाँदर बन्ध्याकरण कार्यक्रममा नेपाली पशु चिकित्सक र वन रक्षकलाई सहभागी गराउन अनुरोध गरेकी थिइन् ।

समितिको अनुरोधअनुसार भारत सरकारले नेपाली टोलीलाई बाँदर बन्ध्याकरणसम्बन्धी सीप प्रदान गर्न लागेको हो । ‘हाम्रो कानुनले बाँदर मार्न दिँदैन । बाँदरआतंक विकराल समस्या छ, थुप्रै उजुरी आएका छन् । सरसल्लाह गर्दा परिवार नियोजनमा जाने सुझाव आयो । हामीसँग जनशक्ति र औजार भए पनि नवीन सीप छैन । त्यसैले यो तालिम बाँदरआतंक नियन्त्रणमा महत्त्वपूर्ण हुनेछ,’ सभापति राणाले भनिन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकाससचिव रेवतीरमण पौडेलले बाँदरको आतंक नियन्त्रण गर्न सजिलो नभएको उल्लेख गर्दै किसानको बालीनाली नष्ट गरिरहेको र नियन्त्रण चुनौती बनेका वेला सीप आदान–प्रदान अति आवश्यक रहेको बताए ।

समितिका उपसचिव शिवदत्त बरालका बब्लु ठाकुरको नेतृत्वमा नेपाली टोली दिल्ली हुँदै चण्डीगढ जानेछ । नेपाली प्रतिनिधिमण्डलले पाँच दिन सिम्लामा तालिम लिनेछ । टोली दिल्ली हुँदै ११ चैतमा स्वदेश फर्किनेछ । प्रतिनिधिमण्डलको सबै खर्च भारतले व्यहोर्नेछ भने कर्मचारीलाई भत्ता पनि प्रदान गर्नेछ ।

टोलीमा पशु चिकित्सकहरू मनोज महतो, रञ्जित अधिकारी, बब्लु ठाकुर, अनन्त कोइराला, हरिनारायणप्रसाद थारू, भीमप्रसाद तिमिल्सिना, विनोद कठायत, सुलेश्वर मण्डल, विशाल चन्द, विकास गिरी र चन्द्रकला राना छन् । यसैगरी, रेन्जरतर्फ अक्षय चौधरी, पुरनदेव मिश्र, दीपककुमार चन्द र खिमराज ओली छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics