दुर्लभ चरा–चुरुंगी बस्ने रूख काट्दै मोरङको सर्व हितैषी आधारभूत विद्यालय, अब रोक्ने कस्ले ?

विश्वनाथ रिजाल -
स्कुले जीवन पार गर्दैगर्दा सप्तकोशी नदीको पानी आउने ति नहर कम मनमोहक थिएन हाम्रा लागि । त्यही पौडी प्रतियोगिता हुन्थे त्यो समय । नहरको डिलमा साइकल चलाउँदै द्रुत गतिमा पसिना बगाउँदै चलाएको हिजो जस्तो मात्र लाग्छ । नहर नजिकै हुने कदमका रूखबाट नहरको पानीमा हामफाल्दा अहिलेका बन्जी जम्पिङ्ग त उहिल्यै गरेको भान हुन्छ ।


कुनै बेला अबेर घर पुग्दा पनि स–साना बुट्यानमा फलेका ति बयर, कदम, तितरी, आँप र अंबकहरू खाएर पेट नै भरीन्थ्यो । प्रत्येक मौसम हाम्रो लागि रोचक एवं आन्दमय हुन्थ्यो । बर्षात्को समयमा रोपाइँ गर्न तयारी हुने ति खेत गह्रामा माछा, गंगटा प्रसस्त हुन्थे । खोला, पुराना पानी भरिएका खाडल, स–साना पोखरीबाट जाल वा बल्छीले प्रसस्त माछा निकालिन्थ्यो । घरमा आवश्यक हुने तिहुन–तरकारीको स्वाद नै तिनिहरूले फेर्थे ।


घर वा खेतमा विभिन्न प्रजातिका बोट बिरुवा, फल–फुल आदिले गाउँको सुन्दरता थपेको हुन्थ्यो । मौसमअनुसार बर्षेनी विभिन्न बालीनाली लगाउँदा खेत बारी आफै मलिलो थियो । चराचुरुंगी र वन्यजन्तुले दुःख दिएको सुन्निदैन्थ्यो त्यो समय । मौसम अनुसारका कृषि उत्पादन अनि विभिन्न संस्कृतिले सुन्दरता थपेको थियो ।




रूखमा बसेको लंगुर बाँदर ।

आज सोहि गाउँका नहर पुरिन थालेका छन् । पानीको बहाव कम छ । खोलाहरू सुकेका छन् । भएका स–सना पोखरी मासिए । रूख बिरुवा काटिएको छ । गाउँघरका उत्पादन मासिएको छ । कृषि, पशुपालन विस्थापन हुँदै गएको छ । आधुनिक संस्कृतिसंगै बजारिया खानाको उपभोग बढेको छ । वातावरण एवं वन्यजीव माथि अतिक्रमण बढेको छ ।


केहि बर्ष अगाडि बाँदरले दुःख दियो भन्दै डंग्राहा, हातिमुढा, सिसवाटोल क्षेत्रका बाँदर स्थानान्तरण गर्न यसै बुढीगंगा गाउँपालिकाले बजेट विनियोजन गर्यो । गाउँपालिकाको कार्यलाई गोप्य रूपमा कार्यन्वयन गर्न बाँदर राख्ने खोर बनाउन डिजाइनसमेत दिएर बाँदर स्थानान्तरण गर्न मोरङ डिविजन वन कार्यालयले अनुमुती दिएको थियो । अनुमतिसँगै बाँदर समाउने कार्य हुँदैगर्दा तत्कालिन गाउँपालिका अध्यक्ष बालचन्द्र माझी, तात्काली वन प्रमुख, र वन अधिकृत परमेश्वर पासवानसँग लगातार संरक्षण बारेका जनचेतना मुलक सम्बाद भयो । उनीहरूले ‘हामीले ११ वटा बाँदर मात्र पथरीको जंगलमा स्थानान्तरण गरेको छौ, अब गर्दैनाैं’ भनि मौखिक रूपमा रोकेको जानकारी दिएका थिए । वन र वातावरण संरक्षणका लागि यति सम्म गर्नुपरेको थियो ।




बाँदर ओसार्न गाउँपालिकाले बनाइएको खोर ।

अहिले संरक्षणका नाममा पुगेका बजेट सहि क्षेत्रमा नपुग्दा वातावरण बिग्रेको छ । बिग्रेको वातावरणलाई पुन पहिलेकै स्थितिमा पुर्याउन भोलिका पुस्ताले निकै समस्या झेल्नु पर्ने देखिन्छ । संरक्षणका नाममा वेतन बुझेर काम गर्न अहिले जिम्मेवारी पाएको निकायले वातावरण प्रति बेवास्ता गर्ने हो भने भोलिका पुस्ताहरूले निकै सकस जीवन भोग्नु पर्ने हुन्छ । पटक पटक यिनै समस्याका कारण वातावरणमा समस्या उत्पन हुँदा वन्य जीवहरूले हामीलाई सचेत पनि गराएका छन् । तिनिहरूले हामीलाई गराएको सचेतलाई हामी आतंक भनिरहेका छौं ।


तीन महिना अघि मात्र सलकपुरमा रहेको पूर्वाञ्चल विश्व विद्यालयमा हात्तीको झुण्डको आगमनलाई पनि एक सूचकका रूपमा लिन सकिन्छ । मोरङको सुन्दरहरैंचामा एक हात्तीलाई गोली हानेर मारेको घटना विश्वजगतमा नै लज्जाजनक भएको छ । केहि हप्ता अगाडि मात्र मनमोहन प्राविधिक विश्व विद्यालय परिसरको पोखरीमा एउटा भुँडीफोर गरुड घाइते अवस्थामा फेला पर्यो र उद्दार गरियो ।




काटिने रूखहरूमा बसेका चमेरहरू ।

यो क्षेत्रमा विभिन्न प्रजातीका चराचुरुंगी धेरै छन् । तर, बुढिगंगा ७ डंग्राहामा रहेको सर्व हितैषी आधारभूत विद्यालयले यिनै चराचुरुंगी र बाँदर बस्ने/रमाउने नजिकैको सिमलसहितका विभिन्न रूख काट्न अहिले बोलपत्र आह्वान गरेको छ । यहाँ दर्जनौं रूखहरू काट्ने उसको योजना छ । चराचुरुंगी र वन्यजन्तुले खाने फलका रूखहरू काट्न स्वीकृत दिनु कति जायज विषय हो ? प्रश्न गम्भिर छ । संरक्षणका बारेमा स्थानीय एवं विधार्थीहरूलाई जनचेतना दिनु प्रमुख कर्तव्य हुन्छ । मोरङ जिल्लामा नै भएका बिश्व विद्यालयका विद्यार्थीहरूलाई भएका जीव जन्तु र चराचुरुंगीको अनुसन्धानमा संग्लग्न गराउन के दक्ष जनसक्ति छैन र ?




रूख काट्न दिइएको अनुमति पत्र ।

डंग्राहा, हातिमुढा, सिसवाटोल यस्तै क्षेत्र हो जसले आफ्नै परिचय बोकेको छ । यस स्थानलाई प्रकृतिले साथ दिएको छ । यसैले दुर्लभ गरुड, गिद्द ,चमेरा लगायत हनुमान लंगुरले पनि वासस्थान पाएका छन् । तर, अहिले स्थानीयहरूको चाँड पर्व, पुजामा प्रयोग हुने बोटबिरुवा मासिदै छ । अहिले जीव जन्तु, चरा चुरुंगीको वासस्थान खोसिएको भन्दै स्थानीयहरूले खबरदारी गर्दा पनि वेतनधारीहरूको बल मिच्याई हुँदैछ ।


केहि हप्तादेखि यस्तै रूखहरू मास्ने परिपत्र सर्व हितैषी आधारभूत विद्यालयबाट हुँदैगर्दा स्थानीयहरू चिन्तित छन् । के उल्लेख गरिएका सिमल, पिठारी, कदमका रूख सम्बन्धित निकायले कटान हुन रोक्न सकिदैन ? समयमा विचार नगरे भविश्यमा पछुताउनु पर्नेछ ।


(लेखक अमृत साइन्स क्याम्पसका लेक्चरर हुनुहुन्छ )

स्थानीयलाई वातावारणबारे जनचेतना दिँदै ।


हात्तीका विषयमा विद्यालयमा विद्यार्थीलाई जनचेतना दिँदै ।


विद्यालयमा वातावारणबारे जनचेतना दिँदै ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics