डढेलो नियन्त्रण गर्न सरकारले प्रयाप्त जनशक्ति र उन्नत साधनको प्रयोग छिटो गरोस् : योगेश भट्टराई
- नेचर खबर
 
                                                        काठमाडौं – नेकपा एमालेका सचिव तथा सांसद् योगेश भट्टराईले ताप्लेजुङसहित पूर्वका विभिन्न जिल्लामा निरन्तर आगलागीका घटना र भौतिकसहित मानविय क्षति बढ्न थालेको भन्दै यसको नियन्त्रणमा सरकारको ध्यानाकर्षण गरेका छन् ।
आइतबार राती सामाजिक सञ्जालमा लेख्दै उनले पूर्वका तराईदेखि पहाड सम्म नै वन डढेलो फैलिएको र घरहरू पनि जल्न थालेकाले नियन्त्रणमा सरकार नै लाग्नुपर्ने बताए । ‘स्थानीय समुदाय र सुरक्षाकर्मीहरूले डढेलो नियन्त्रण गर्ने कोशिस गरे पनि पूर्ण नियन्त्रण हुन सकेको छैन,’ उनले लेखेका छन्, ‘डढेलो नियन्त्रणमा प्रयाप्त जनशक्ति तथा उन्नत साधनको प्रयोग गर्न तिनै तहको सरकारका सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दछु ।’

पछिल्ला केही दिनदेखि ताप्लेजुङ र तेह्रथुम जिल्लाका विभिन्न स्थानमा लागेको डढेलोका कारण ठूलोमात्रामा भएको भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उनले क्षति भएका भौतिक सम्पत्तिको क्षतिपूर्ती सरकारले तत्काल उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।
अझै केही महिना डढेलोको जोखिम कायमै रहने संभावना रहेकाले प्राकृतिक विपत्तीको पूर्व तयारीका लागि दक्ष जनशक्ति, उन्नत साधन र स्रोतको व्यवस्थामा सरकार लागिहाल्नुपर्ने भट्टराईको सुझाव छ । ‘मानविय कमजोरी, लापरवाही र खराब नियत आगलागी र डढेलोका मुख्य कारण हुन् । यस सम्बन्धमा प्रयाप्त जनचेतना आवश्यकता देखिन्छ,’ उनले लेखेका छन्, ‘खराब नियतका कारण उत्पन्न समस्यामा कडा कारबाही समेत गर्नु पर्छ । सम्पूर्ण दिदिबहिनी तथा दाजुभाईमा आगोको प्रयोगमा सतर्कता अपनाउन पनि हार्दिक अपिल गर्छु ।’

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस