‘पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणका लागि रूख कटान गरे अप्रिय घटना हुनसक्छ’

ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलका निर्माणका गर्दा हजारौं रूख कटान हुने र यसले वातावरण र पर्यावरणमा गम्भिर असर पर्ने भन्दै विभिन्न संघर्ष समिति र संस्थाहरूले रूख कटान नगर्न माग गर्दै वन डिभिजन वन कार्यालय ताप्लेजुङमा ज्ञापन पत्र बुझाएका छन् ।

आइतबार कार्यालय प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले कथित विकासको नाममा आध्यात्मिक पवित्र स्थल पाथीभरा (मुक्कुम्लुङ)मा केबलकार निर्माण गर्नका लागि राष्ट्रिय फूल लालिगुराँस लगायत पचासौं हजार मुन्धुमी बोट विरुवा काट्न नहुने बताए ।

‘ताप्लेजुङ जिल्लामा अवस्थित मुक्कुम्लुङ लिम्बु याक्थुङ समुदायको मुन्धुमी, सांस्कृतिक, आध्यात्मिक पवित्र स्थलको संवर्धन र संरक्षण गर्न त्यहाँका बासिन्दा र आम जनसमुदाय लामो समयदेखि आन्दोलनरत रहेका छन्,’ ज्ञापनपत्रमा लेखिएको छ, ‘कथित विकासको नाममा मुन्धुमी, सांस्कृतिक सम्पदा, आध्यात्मिक पवित्र स्थल मुक्कुम्लुङमा केबलकार निर्माण गर्नका लागि राष्ट्रिय फूल लालिगुराँस लगायत पचासौं हजार मुन्धुमी बोट विरुवा काट्न नदिन यसअघि ‘वन तथा वातावरण मन्त्रालय’, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय’ र ‘गृह मन्त्रालय’मा ज्ञापन पत्र बुझाइ सकिएको स्मरण गराउन चाहन्छौं ।’

उनीहरूले यस क्षेत्रमा केबलकार निर्माण गराउन सरकारकै आडमा सशस्त्र वेस क्याम्प खडा गरी रूख कटान गर्ने हालसालै प्रयास भएको भन्दै आइएलओ, युएनड्रिप जस्ता अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानको धारा ३२ (३) अनुसार सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षणका लागि स्थानीय जनताले त्यसको प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् ।

यहाँको पर्यवरण बचाउन सबै समुदाय लागेको उल्लेख गर्दै उनीहरूले यदि रूख कटान गर्न फेरि राज्यले अनुमति दिएमा र व्यापारी कम्पनीहरूको रूख कटान गर्ने, पर्यावरण, पुरातात्विक, सांस्कृतिक सम्पदा तथा जैविक विविधता सर्वनास गर्ने काम कारवाही गरेमा त्यसको प्रतिरोध गर्दा अप्रिय घट्ना घट्न सक्ने तर्फ सचेत गराएका छन् । ‘त्यस्तो अप्रिय स्थिति उत्पन्न भए जनसमुदायको शान्ति र सुरक्षाको जिम्मा भएको सरकारले जिम्मेवारी लिनु पर्ने हुन्छ,’ ज्ञापन पत्रमा भनिएको छ, ‘त्यसैले, समयमा नै सरकार सचेत रहोस् भनेर प्रमुखज्यूलाई यो ज्ञापन पत्र बुझाउने काम गरेका छौं ।’

डिभिजन वन कार्यालयमा बुझाएको ज्ञापन पत्रमा मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समितिका संयोजक श्री प्रसाद लिम्बु, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बु, प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिका अध्यक्ष डकेन्द्र सिंह थेगिम, लिम्बु थरगत संस्था (याक्थुङ सयङ) मूल अभियान समितिको तर्फबाट सहजीकरण समूहका संयोजक नन्द कन्दङवा, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समितिका अध्यक्ष प्रेम येक्तेन, पहिचान सहितको प्रदेश नं.१ प्रदेश पुनः नामाङ्कन अभियान समितिका महासचिव रामभक्त कुरुम्बाङ र मुक्कुमलुङ तान्सेःप् चुम्भोका प्रतिनिधि सरस्वता सिङ्गक (सरु)ले हस्ताक्षर गरेका छन् ।
यस्तो छ ज्ञापन पत्र ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics