मुखमा घाउ भएको चितुवा लमजुङमा मृत भेटियो

काठमाडौं – लमजुङको एक सामुदायिक वन नजिकै पोथी चितुवा मृत अवस्थामा भेटिएको छ ।

सोमबार बिहान स्थानीयले वेसीसहर–६, भलामशेरा, भँगेरथान सामुदायिक वन नजिकै मृत अवस्थामा चितुवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले दिएको जानकारी पछि डिभिजन वन कार्यालय लमजुङबाट उक्त स्थानमा टोली खटिएको थियो ।

घटनास्थलमा पुग्दा करिब ४–५ वर्षको पोथी चितुवा मुखमा रगत आएको अवस्थामा मृत भेटिएको डिभिजन वन कार्यालय लमजुङका सूचना अधिकारी सन्तोष खनालले नेचर खबरलाई बताए । ‘मृत भेटिएको चितुवा दुब्लो अवस्थामा थियो । मुखबाट रगत बगेको थियो । लामो समय खान नपाएर कमजोर भएर मरेको हुन सक्ने प्रारम्भिक अनुमान छ । यस विषयमा अनुसन्धान हुँदैछ,’ उनले भने ।

उनका अनुसार कसैले ढुंगाले हानेर मुखमा चोट लागेपछि सिकार गर्न र खान नसकेपछि कमजोर भएर मरेको पनि हुन सक्छ । ‘मृत्युको कारण जे पनि हुनसक्ला, केही कारणले कमजोर भएर हिँडिरहेको अवस्थामा कसैले ढुंगाले हानेर मरेको पनि वा भालेसँगको भिडन्तमा मरेको पनि हुनसक्छ,’ सूचना अधिकारी खनालले भने । उनले चितुवाले मानिसलाई कुनै क्षति पुर्याए त्यसको क्षतिपूर्ति सरकारले दिने भएकाले मानिसले वन्यजन्तुलाई असर नपुर्याउन पनि आग्रह गरे ।

मृत अवस्थामा भेटिएको चितुवालाई डिभिजन वन कार्यालयमा ल्याएर गाडिएको छ । चितुवाको मृत्युको कारण शंकास्पद देखिएकोले थप अनुसन्धान भइरहेको बताइएको छ । सूचना अधिकारी खनाल भन्छन्, ‘चितुवाले पारिस्थितिकीय प्रणालीलाई सन्तुलन राख्न महत्त्वपूर्ण भूमिका खेल्ने र चितुवाले मानिस तथा पशुधनलाई क्षति गरेमा सरकारले पीडितलाई राहत उपलब्ध गराउने हुँदा कसैले पनि चितुवालाई मार्ने कसुर नगर्नु नगराउनु हुन समेत अनुरोध छ ।’

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics