जलवायु परिवर्तनको उच्च असर कोशीमा, पानी कम पर्दा जले घर र वन

काठमाडौं – फागुन अन्तिम सातायता कोशी प्रदेशमा दिनहुँजसो आगलागीका घटना भइरहेका छन् । तराईदेखि पहाड सम्मका वन जंगलमा लागेको आगो कही स्थानमा अझै नियन्त्रणमा आउन सकेको छैन । वनबाट फुत्किएको डढेलोले दर्जनौं दर्जनौं घर–गोठ जल्दा करोडौंको क्षति भएको छ भने केही स्थानमा मानविय क्षति पनि भएको प्रहरीले जनाएको छ । वातावरण विज्ञ भन्छन्, ‘अन्य जिल्लामा भन्दा कोशीमा जलवायु परिवर्तनको असर उच्च छ । यस वर्ष यो प्रदेशमा कम वर्षा भएकाले आगलागी र डढेलोका घटना बढेका हुन् । यो क्रम अझै बढ्न सक्छ ।’


जलवायु परिवर्तनको असरले मुहान सुकेका छन् । घर–घरमा पर्याप्त पानी छैन । जंगल सुख्खा बनेका छन् । नियन्त्रण गर्न पानी र जनशक्ति नहुँदा घरदेखि वनसम्म निरन्तर जलिरहेका छन् । तीन दिन दिनअघि भोजपुरमा भएको आगलागीमा तीन बालबालिकाले ज्यान गुमाएका थिए । आगोमा जलेर विभिन्न जिल्लामा दर्जनौं घर नष्ट भएका छन् । यसै घटनामा पाँचथर र झापामा १–१ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, मोरङ, तेह्रथुम, सुनसरी, सोलुखुम्बु, पाँचथर, इलाम, उदयपुर, धनकुटालगायत जिल्लामा शृङ्खलाबद्ध रूपमा आगलागीका घटना हुँदा धनमालको ठूलो क्षति भएको छ ।


पहाडी क्षेत्रमा वनमा लागेको डढेलो फैलँदै गाउँ बस्तीसम्म पुगेर स्थानीयको घर जलेका घटना छन् । यसैगरी, तराईका केही स्थानमा बिजुलीका कारण आगलागी भएको पाइएको छ । पछिल्लो साता एकै दिन झण्डै दर्जन स्थानमा आगलागी भएको पाइएको छ ।


ताप्लेजुङको नाङ्खोल्याङ र थेचम्बु क्षेत्रको वनमा लागेको डढेलो ।

कोशीमा कति भयो क्षति ?
कोशी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार शनिबार र आइतबार दुई दिनमा मात्रै कोशीमा ४५ वटा आगलागीका घटना भएका छन् । त्यसमध्ये भोजपुरको हतुवागढीमा भएको आगलागीमा ३ बालबालिकाको ज्यान गएको छ । फागुन ११ गते यताको तथ्याङ्क हेर्दा आगलागीमा परी पाँच जनाले ज्यान गुमाएका छन् भने १६ जना घाइते छन् ।


आगलागीबाट भएको प्रारम्भिक विवरण अनुसार सबैभन्दा बढी मोरङमा ३ करोड ७२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै इलाममा १ करोड २२ लाख, झापामा १ करोड ८६ लाख, ताप्लेजुङमा १ करोड ४ लाख, तेह्रथुममा २ करोड, धनकुटामा १ करोड, सुनसरीमा ६२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।


भोजपुर नगरपालिका-१२ टक्सार माल्वासेमा शुक्रबार आगलागीपछि उद्धारमा खटिँदै सुरक्षाकर्मी । हावाहुरीको कारण बनको लागेको डढेलो बस्तीमा पस्दा आठ घर जलेर नष्ट भएका छन् । - रासस

कुन–कुन जिल्लामा कति आगलागी ?
कोशी प्रदेशका तराईमा भन्दा पहाडी र हिमाली जिल्लामा आगलागीका घटना बढी भएका छन् । शनिबार मात्रै सोलुखुम्बुमा ११ वटा, तेह्रथुममा ५, ओखलढुंगामा १, पाँचथरमा ३, इलाममा ३, खोटाङमा २, भोजपुरमा ३, उदयपुरमा ३, मोरङमा ३ वटा आगलागीका घटना भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) चन्द्र कुबेर खापुङले नेचर खबरलाई जानकारी दिए ।


उनका अनुसार आइतबार पनि संखुवासभामा २, खोटाङमा ३, ओखलढुंगामा १, सुनसरीमा ४, तेह्रथुममा ३, मोरङमा १, उदयपुरमा २, धनकुटामा २ र सोलुखुम्बुमा १ वटा आगलागीका घटना भएका छन् । उक्त आगलागीबाट भएको क्षतिको पूर्ण विवरण भने अझै आइसकेको छैन ।


आइतबार बेलुका ५ बजेसम्मको तथ्यांक अनुसार फागुन ११ यतामात्र आगलागीका २६७ वटा घटना भएका छन् । जसमा परी २०० वटा घर जलेका छन् । आगलागीबाट १५ करोडभन्दा बढीको धनमाल क्षति भएको छ । उद्योगमा भएको आगलागीदेखि परालका कुन्यूसम्मका घटनाबाट भएको क्षतिको विवरण प्रहरीले पनि उपलब्ध गराउन सकेको छैन ।


शनिबार भोजपुरको टक्सारमा भएको आगलागीमा ७ वटा घर जलेका थिए । यस्तै मोरङको रंगेलीस्थित एक सन्थाल बस्तीमा भएको आगलागीमा २१ घर जलेको थियो । आइतबार तेह्रथुमको फेदापमा भएको आगलागीबाट १९ घर जलेका छन् । शनिबार साँझसम्मको विवरण अनुसार फागुनयता इलाममा इलाममा १०, उदयपुरमा १२, ओखलढुंगामा ११, खोटाङमा १५, झापामा २६, ताप्लेजुङमा ११, तेह्रथुममा २६ वटा, धनकुटामा १९ वटा आगलागीको घटना भएका छन् ।


यस्तै पाँचथरमा ११ वटा, भोजपुरमा ११ वटा, मोरङमा ४८ वटा, संखुवासभामा ६ वटा, सुनसरीमा ३० वटा र सोलुखुम्बुमा १५ वटा आगलागीका घटना भएका छन् । आगलागीबाट भोजपुरमा ३, झापा र पाँचथरमा १–१ जनाको मृत्यु भएको छ । घाइतेको संख्या १६ पुगेको छ ।


सोही तथ्याङ्क अनुसार आगलागीबाट इलामा ६, उदयपुरमा ११, ओखलढुंगामा ३, खोटाङमा १२, झापामा ८, ताप्लेजुङमा ९, तेह्रथुममा १६, धनकुटामा १५ जनाको घर जलेको छ । यस्तै पाँचथरमा ८, भोजपुरमा १४, मोरङमा ४०, संखुवासभामा ३, सुनसरीमा १४ र सोलुखुम्बुमा १ वटा घर जलेको प्रहरीले जनाएको छ । अधिकांश आगलागी र क्षति वनमा लागेको आगो गाउँमा पस्दा भएको प्रहरीले जनाएको छ ।


हिउँदयाम सकिएर प्रिमनसुन सुरु हुन लाग्दा पनि वर्षा नहुनु, गर्मी बढ्नु र हावा चल्दा आगलागी बढिरहेको प्रहरी अधिकारी बताउँछन् । सरकारले पनि पछिल्ला दुई दिनको अन्तरालमा डढेलो र आगलागीले ठूलै जनधनको क्षतिसमेत पुर्याइरहेकोप्रति चिन्ता व्यक्त गर्दै सचेतता अपनाउन आव्हान गरेको छ ।


राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डढेलो धेरैजसो मानवीय कारणले फैलिने गरेको बताएको छ । मानवीय लापरबाहीका कारण नेपालमा ६४ प्रतिशतभन्दा बढी डढेलोका घटना हुने गरेको प्राधिकरणले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले यसपटकको हिउँदमा सरदरभन्दा कम पानी परेकाले सुक्खा भएको र सुक्खामा डढेलोको जोखिम ज्यादा हुने खतरा रहेको जनाएको छ ।


सांसद्ले गुहारी रहेछन् सरकार
कोशी प्रदेशका विभिन्न स्थानमा डढेलोको प्रकोप नै फैलिएपछि यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद्हरूले सदनको शुन्य समयमा र सामाजिक सञ्जाल मार्फत् सरकारको ध्यानाकर्षण गरिरहेका छन् । केही दिन अघि ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने एमाले सांसद् उर्मिला थेबेले जिल्लामा निरन्तर आगलागीका घटना बढेकाले नियन्त्रणमा सरकारकै उपस्थिती आवश्यक भएको बताइन् । उनले लाखौ रूख जलेको र वनमा दैनिक डढेलो फैलिएकाले जनशक्ति र नियन्त्रणका साधन समयमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरिन् ।


यस्तै एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत सरकार आगलागी र डढेलोको घटना बढ्दै गएकोमा गम्भिर बन्नुपर्ने बताए । उनले कोशीका विभिन्न जिल्लामा फैलिएको डढेलोले घर र जन समेतमा क्षति पुर्याएकाले क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग माग गरेका छन् ।


यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुख्खायाम सुरु भएसँगै आगलागीका घटना बढेकाले सबै सतर्क रहनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै र विभिन्न कार्यक्रममा उपस्थित भएर उनले यो विषयमा सरकार गम्भिर रहेको र नागरिक पनि सचेत हुन आवश्यक रहेको बताइरहेका छन् ।


डढेलोकै कारण पनि अहिले वातावरणमा प्रदूषण फैलिएको छ । नेपालमा वन डढेलोका घटना खासगरी मंसिरदेखि जेठसम्म हुने गरेको बताइन्छ । फागुनदेखि सुरु भएको डढेलो र आगलागीका घटना चैत लागेपछि एक्कासि बढेका छन् । घटना देशव्यापी रूपमा नै विस्तार भएका छन् । विगत २४ घण्टामा मात्र देशभर आगलागीका ५५ घटना भएको गृह मन्त्रालयले जनाएको छ । ती घटनामा तीन जनाको ज्यान गएको र तीन जना घाइते भएका छन् । घटनामा चार करोड ८५ लाख रुपियाँ बराबरको आर्थिक क्षति भएको छ ।


उकालो लाग्दै आगलागीका घटनाको ग्राफ
नेपालमा पछिल्लो समय बर्सेनि आगलागी र डढेलोको घटना बढ्दै गएको छ । विगत १२ वर्षको तथ्यांकलाई हेर्ने हो भने आगलागीकै कारणले ठूलो संख्यामा वन जंगल जलेका छन् भने मानविय क्षति पनि उत्तिकै छ ।


गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रको तथ्यांक अनुसार यो समयमा २५ हजार २४० वटा आगलागी र डढेलोमा परेर एक हजार एक सयभन्दा बढीको ज्यान गएको छ । एक दशकको अवधिमा आगलागीबाट २६ अर्ब ७१ करोड ९५ लाख ६३ हजार ८३४ रुपियाँ बराबरको आर्थिक क्षति भएको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।


२०६८ सालदेखि २०८० चैत ४ गतेसम्मको अवधिमा तीन हजार ३२६ जना घाइते भएका छन् । एक दशकमा ३३ हजार १७५ परिवार आगलागीबाट प्रत्यक्ष प्रभावित बनेका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विभागले यो वर्ष वनको डढेलो जोखिम उच्च हुने अनुमानका साथ रोकथामका लागि पनि तयारी रहनुपर्ने जनाएको छ । यो वर्ष हिउँदमा कम वर्षा भएका कारण वनका पातपतिङ्गर सुक्ने र आगलागीको जोखिम उच्च हुने भएकाले ध्यान पुर्याउन अनुरोध गरेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics