बारामा पाटेबाघ मृत फेला, गोली हानेर मारेको आशंका

बारा – बारामा पुनः एउटा पाटेबाघ मृत फेला परेको छ । कोल्हवी नगरपालिका–२, अमाव महादेवस्थान भन्ने ठाउँमा मंगलबार पोथी बाघ मृत भेटिएको हो ।

मृत बाघको उमेर अन्दाजी दुई वर्षको हुनसक्ने अनुमान गरिएको छ । कोल्हवी सब–डिभिजन वन कार्यालयको क्षेत्रमा मृत अवस्थामा फेला परेको पोथी बाघको कञ्चटमा घाउ देखिएको छ । बाघलाई स्थानीय बासिन्दाले गोली हानेर मारेको हुनसक्ने अनुमान डिभिजन वन कार्यालयले गरेको छ । दुई साताअघि बाराको निजगढमा एउटा पाटेबाघ मृत भेटिएको थियो ।

परीक्षणपछि मात्र वास्तविकता खुल्न सक्ने पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले जानकारी दिए । गर्मी सुरु भएसँगै जंगलमा पानीको अभाव भएपछि पानी खोज्दै नजिकको बस्तीमा पस्दा बाघ र मानवबीच द्वन्द्व बढेको छ ।

यस क्रममा कहिले बाघले मानव र कहिले मानवले बाघ मारेका घटना भइरहेका छन् । सोमबार मात्र पर्साको ठोरीमा बाघले एक महिलाको ज्यान लिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics