भँगेरा र भँगेरी हराउन थाले कसरी ?
विश्व भँगेरा दिवस विशेष
- नेचर खबर

काठमाडौं -
भँगेरा र भँगेरी
कुरा गर्छन् कसरी,
चुरचुर गर्छ भँगेरो
चिरचिर गर्छे भँगेरी …
राष्ट्रकवि माधवप्रसाद घिमिरेको याे बाल कवितासँगै हुर्किएको अहिलेकाे पुस्ताले आँखै अगाडि भँगेराहरु हराउँदै गएको पनि देखेको छ । त्यसैले अहिले भँगेरा जाेगाउन विश्वव्यापी रूपमा भँगेरा दिवस मनाउन थालिएकाे छ ।
प्राकृतिक प्रणालीमा महत्त्वपूर्ण भूमिका भएका तर लोप हुने डर भएका चरा-चुरुङ्गी र जनावरहरू जोगाउन दिवसहरू मनाउने गरिन्छ । भँगेरा संरक्षण र यसका बारेमा जनचेतना फैलाउन सन् २०१० देखि प्रत्येक वर्षको मार्च २० मा यो दिवस मनाइन्छ ।
करिब तीन वर्ष बाँच्ने, ४० ग्रामसम्म तौल हुने भँगेरो हेर्दा सानो देखिन्छ । तर पारिस्थितिक प्रणालीमा यसको ठूलो महत्त्व छ । त्यो महत्त्व इकोसिस्टमसँग मात्र होइन, हाम्रो जीवनशैलीसँग पनि जोडिएको छ । बियाँहरू खाने भँगेराले बच्चालाई भने सागजन्य तरकारीमा लाग्ने लाही कीरा खुवाउँछन् । पछिल्लो समय हाम्रो वरपर भँगेरा कम छन् । त्यसैले लाही कीरा पनि खेतबारीमा प्रशस्तै देखिन्छन् । लाही मार्न रासायनिक विषादी प्रयोग बढेको छ । यसले पर्यावरणलाई बिथोलिरहेको छ र विष हालेको तरकारी खाँदा मानव स्वास्थ्यलाई पनि असर गरिरहेको छ ।
वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठका अनुसार भँगेराले खेती बालीदेखि आपत-विपद्को जानकारी दिन्छ । सामान्यतया घरमा बस्ने र रुखमा बस्ने गरी भँगेरा दुई किसिमका हुन्छन् । घरमा बस्ने भँगेराले गुँड बनाउँदैनन् । घरका भित्तामा, छानामा भएका प्वालमा बस्छन् । त्यहीँ अण्डा पारेर बच्चा कोरल्छन् । बनमा बस्ने भँगेरा घरतिर आउँदैनन् । त्यसो त चराविद्हरू घर भँगेरा, रूख भँगेरा र कैलो भँगेरा गरी तीन किसिमको हुने बताउँछन् ।
ध्वनि प्रदूषण, बासस्थलको अभाव, कृषिमा अत्यधिक किटनाशक औषधि र विषादीको प्रयोग आदिले पारिस्थितिकीय प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भँगेराको सङ्ख्या घट्दै गइरहेको छ । अहिलेका घरमा भँगेरालाई गुँड बनाउन पहिलेजस्तो प्वाल र सुविधा छैन। बिजुली बत्तीको झिलीमिली र रङरोगनको गन्धले पनि तिनलाई त्यहाँ बासस्थल बनाउन सहज छैन। गुँड बनाउन खरपातको अभाव, सहरीकरण र बढ्दो ध्वनि प्रदूषणले पनि तिनलाई असहज छ।
नेपालमा हालसम्म आठ सय ९० बढी प्रजातिका चरा पाइन्छन्। तीमध्ये भँगेरा पनि एक प्रजाति हो। नेपालमा घर भँगेरा, रुख भँगेरा, कैलो भँगेरा, पीत कण्डे भँगेरा र स्पेनिस भँगेराहरु पाइन्छन्। अन्य प्रजातिका भँगेराहरुले बाहिरै अन्यत्र स्थानमा बस्न मन पराउँछन्। हालसम्म विश्वमा ३२ प्रजातिका भँगेरा भेटिएको छ।
पुरानो र परम्परागत भँगेरामैत्री घर नहुनु, रुख बिरुवा विनास हुनु, प्रदूषण, चेतनाको कमी, अहाराको कमी, बालीनालीमा प्रयोग हुने विषादी तथा यिनीहरुलाई संरक्षण गर्नुको सट्टा मार्ने, छोप्ने र शिकार गर्ने प्रबृत्तिले पनि यो चराको सङ्ख्यामा कमी आएको छ।
पछिल्लो एक अध्ययनले मोवाइल फोन र यसको टावरको र्याडिएसनको कारणले भँगेरामा असर परेको पंक्षीविद्को भनाइ छ। भँगेरा हाल विश्वबाट घट्दै गइरहेको अवस्थामा यसको महत्व र संरक्षण गर्न जरुरी छ। बेलायतमा भँगेरा संकटग्रस्त चरा हो। विश्वका करिब ८० प्रतिशत चराको सङ्ख्या घटेको तथ्याङ्क छ तर भँगेराबारे अनुमान मात्रै छ।
प्रतिक्रिया दिनुहोस