विश्व पानी दिवस आज, स्वच्छ खानेपानीको संकट उस्तै

काठमाडौं - प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो ।

विश्वमा देखा परेको स्वच्छ खानेपानीको संकट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो ।

यसवर्ष ‘शान्ति र समृद्धिका लागि पानी’ भन्ने नाराका साथ विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व पानी दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसंघले सन २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ ।

दिगो विकास लक्ष्यका कार्यक्रमअन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औं आयोजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्बद्र्धन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको छ ।

दिवसका अवसरमा नेपालमा पनि सरकारी, सामाजिक र निजी क्षेत्रबाट पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको जनाइएको छ ।

नेपालमा १५ औँ पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) मा ९९ प्रतिशत नागरिकमा आधारभूत स्तरको खानेपानी र ४० प्रतिशत नागरिकलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिएको थियो । जुन पूरा हुन सकेको छैन । १५ औँ पञ्चवर्षीय योजना चालु आर्थिक वर्ष (२०८०/८१) मा सकिँदै छ । राष्ट्रिय योजना आयोगका अनुसार गुणस्तरीय खानेपानी प्रयोग गर्ने जनसङ्ख्या सन् २०३० सम्म ९० प्रतिशत पुर्‍याउने राष्ट्रिय लक्ष्य रहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics